– भक्तराज रसाइली 

काठमाण्डौ। नागरिक लगानी कोषले सञ्चालनमा ल्याएको ‘नागरिक पेन्सन योजना’ मा सहभागी हुन अनलाइनबाट आवेदन गर्न मिल्ने व्यवस्था हुने भएको छ।

कोषका डेपुटी कार्यकारी निर्देशक इन्द्र कट्टेलका अनुसार देशभरका जुनसुकै स्थानबाट ऐच्छिक रुपमा पैसा जम्मा गरी पेन्सन दिने योजनामा सहभागिता जनाउनका लागि अनलाइनबाटै आवेदन दिने प्रणाली अबको दुई महिनाभित्र आउने भएको हो। कोषले ऐच्छिक र स्वतन्त्र रुपमा पैसा जम्मा गरे पेन्सन दिने भएपछि हाल छोटो समयमै नागरिक पेन्सन योजना निकै लोकप्रिय बन्दै गएको  छ।

यो योजनामा सहभागी हुन अनलाइन आवेदनका लागि नागरिक लगानी कोषको वेबसाइट डब्लूडब्लूडब्लू डट एनएलके डट ओआरजी डट एनपीमा गई सबैभन्दा पहिले रजिस्ट्रेसन गर्नुपर्दछ। रजिस्ट्रेसन गरिसकेपछि त्यो अनुरोध नागरिक लगानी कोषको सिस्टमा आइपुग्छ। त्यसपछि कोषको अटोमेटिक सिस्टमले नै लगइन र पासवर्ड पठाइदिन्छ। सो लगइन र पासवर्ड हालिसकेपछि केवाईसीको पोर्टल खुल्छ।  

यस योजनामा सहभागी हुन इच्छुकले लगइन गरी केवाईसी भर्नुपर्छ। केवाईसी भरेपछि फोटो र आवश्यक कागजात समेत अपलोड गर्नुपर्छ। यसपछि भने अनलाइनबाट आवेदन दिइएको सो केवाईसी कोषले आवश्यक जाँच गरी प्रमाणीकरण गर्दछ।

कोषले पेन्सन योजनामा सहभागीलाई एउटा सीआईटी नम्बर प्रदान गर्दछ। सोही सीआईटी नम्बरका आधारमा पेन्सन योजनामा सहभागीेले बैंकमा पैसा जम्मा गर्नुपर्दछ। अथवा सोही सीआईटी नम्बरकै आधारमा एनआईसी एसिया बैंक लिमिटेडमा रहेको नागरिक लगानी कोष, पेन्सन योजनाको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा जम्मा गरी ३ प्रतिमध्ये २ प्रति बैंकमा छाड्नुपर्छ र एकप्रति आफूसँग सुरक्षित राख्ने गर्नुपर्छ। 

एनसीएचएल, इसेवा, फोनपेजस्ता मोबाइल वालेटबाट पेन्सन योजना सहभागीले मासिक भुक्तानी रकम भुक्तानी गर्ने व्यवस्था छ।

यस योजनामा आबद्ध व्यक्तिहरुलाई हाल कोषले परिचयपत्र दिइरहेको छ। पेन्सन योजनामा सहभागी हुन अनलाइनबाटै आवेदन दिनेको हकमा भने डिजिटल कार्ड नै दिने कोषको योजना छ।

यो योजनामा सहभागी हुन इच्छुकले न्यूनतम ५०० रुपैयाँ जम्मा गर्नुपर्दछ र सो रकमभन्दामाथि १० ले भाग जाने रकम जम्मा गर्न सकिन्छ। पेन्सन योजनामा सहभागीले न्यूनतम १५ वर्ष पैसा जम्मा गर्नुपर्छ र ६० वर्ष उमेर पुगेपछि पेन्सन पाइन्छ।

कोषले पहिलोपटक नयाँ प्रडक्ट लन्च गर्दै आम सर्वसाधारण, स्वरोजगार वा जोसुकैले पनि कोषमा न्यूनतम ५०० रुपैयाँ मासिक जम्मा गरी पेन्सन योजनामा सहभागी हुन पाउन लागेको हो। वैदेशिक रोजगार गर्ने व्यक्ति, स्वरोजगार गर्ने व्यक्ति वा भविष्यमा आफ्नो वित्तीय सुरक्षा गर्न चाहने जोसुकै पनि कोषमा सहभागी हुन पाउनेछन्।

कोषमा पैसा जम्मा गर्ने व्यक्तिलाई २ वटा अप्सन रहनेछ। पहिलो १५ वर्षपछि पेन्सन पैसा बुझ्ने र दोस्रो १५ वर्षपछि साँवा र ब्याजसहित एकमुष्ट रकम लिनसक्ने योजना रहेको कोषले जनाएको छ।

यस योजनामा सहभागिता जनाउने व्यक्तिलाई काजकिरिया खर्चस्वरुप १० हजार रुपैयाँसमेत दिने सुविधा छ। यसका साथै पेन्सन योजनामा सहभागीको सबैलाई एकमुष्ट दुर्घटना बीमा गरी १ लाख रुपैयाँ एक्सिडेन्टल बीमाको पनि सुविधा हुने कार्यविधिमा उल्लेख छ। 

कोषले निकट भविष्यमा नै पेन्सन योजना सहभागीलाई अधिराज्यभरका सबै निजी हस्पिटलमा मेडिकल सुविधास्वरुप १० देखि २० प्रतिशत छुटको व्यवस्था गर्ने कोषको योजना छ।

कोषमा त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि एकमुष्ट रकम जम्मा गरी पेन्सन योजनामा सहभागी हुन सक्ने प्रावधान छ। २ वर्ष कट्टा गरेपछि कोषबाट सापटीस्वरुप ऋणसमेत पाइन्छ। सो सापटीमा भने बचतको ब्याजभन्दा १.५ प्रतिशत जोडिने कोषले जनाएको छ। बीचैमा पेन्सन योजनाबाट अलग हुनुपरेमा जुनसुकै बखत साँवा र ब्याजसहित रकम निकाल्न सक्ने सुविधा समेत रहेको कोषले बताएको छ।

पेन्सन योजनामा सहभागी हुन मासिक कति रकम जम्मा गर्ने हो त्यो भने पहिले नै सुनिश्चित गर्नुपर्ने हुन्छ।

पन्ध्र वर्षको अवधिमा पेन्सन योजनामा सहभागी व्यक्तिले जम्मा गरेको कुल रकमलाई १७० ले भाग गरी आउने रकम नै मासिक पेन्सनका रुपमा वितरण हुनेछ। पेन्सन सहभागीको मृत्यु भएमा निजकी श्रीमती वा हकवालाले समेत पेन्सनको सुविधा लिनसक्ने कोषले जानकारी दिएको छ।

हाल कोषको केन्द्रीय कार्यालय काठमाण्डौ नयाँ बानेश्वर र कोषको प्रादेशिक कार्यालय विराटनगर र पोखराबाट पनि यो पेन्सन योजनामा सहभागिता जनाउन सकिने कोषले जनाएको छ। कोषले निकट समयमा प्रदेश नम्बर ५ र ७ स्थापना गरी यो सेवामा सहभागी गराउने योजना बनाएको छ। 

मोफसलमा कोषका सीमित शाखा भएकाले यस योजनामा सहभागी हुन अनलाइनबाट आवेदन दिन मिल्ने व्यवस्था भएका खण्डमा झन् आकर्षण थप हुने बताइएको छ।