काठमाण्डौ । बागमती प्रदेशमा आजबाट सवारीसाधन सम्बद्ध कर तथा राजस्व अब अनलाइन प्रणालीमार्फत भुक्तानी गर्न सकिने भएको छ। 

लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क तथा जरिवानालगायतका राजस्व तथा कर भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। गरेको हो। आज एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय हेटौँडाले डिजिटल अनलाइन पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो।

उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारीसम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ भने सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै पनि प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन्।

यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाका अनुसार कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङजस्ता डिजिटल सेवा प्रदायकमार्फत गर्न सकिनेछ। यसले यातायात कार्यलयमा हुने भीडभाडका साथै आर्थिक चलखेलसमेत रोकिने यातायात कार्यालयको विश्वास छ। 

यो सेवा छिटै देशभर लागू गर्ने सरकारको तयारी छ।