काठमाण्डौ । यातायात व्यवस्था विभागले दसैँमा सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङलाई व्यवस्थित गर्न अनलाइन प्रणाली अपनाउन यातायात व्यवसायीसँग आग्रह गरेको छ।

दसैँका अग्रिम टिकट बुकिङ भोलि सोमबार खुला हुँदैछ। अग्रिम टिकट बुकिङ खुलाको पूर्वसन्ध्यामा विभागले यस्तो आग्रह गरेको हो। बस काउन्टरमा गएर टिकट बुकिङ गर्दा यात्री ठगिने र बिचौलियाले बढी भाडा असुल्नेजस्ता कार्य हुने भएकोले अनलाइनबाटै टिकट बुकिङको व्यवस्था गर्न विभागले आग्रह गरेको छ।

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको आजको बैठकमा विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइनबाट बसको टिकट काट्नेलाई यातायात व्यवसायीले एक बोतल पिउने पानी सित्तैमा दिने प्रतिबद्धता जनाएको जानकारी गराए।  उनले भने, ‘भोलिदेखि दसैँमा घर जान अग्रिम टिकट बुकिङ गर्न सकिनेछ, अनलाईन टिकेटिङ र मोबाइल एप्लिकेसनका माध्यमबाट टिकट खरिद गर्न सकिनेछ।’

बैठकमा विकास तथा प्रविधि समितिले पनि भौतिक रुपमा लामबद्ध भएर टिकट काट्ने व्यवस्थालाई निरुत्साहित गर्न अनलाइनबाट टिकट खरिदको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आग्रह गरेको छ। समितिले स्वास्थ्य मापदण्ड पालना गरेर गाडी चलाउन र यात्रुले थाहा पाउने गरी ढोकामा भाडादर टाँस गर्न पनि सुझाएको छ। 

विभागका अनुसार तोकिएको भाडादर लिए नलिएको अनुगमन गर्न सादा पोसाकमा यात्रुसरह प्रहरी कर्मचारी परिचालन हुनेछन्।