काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणालीमा दैनिकजसो समस्याको बाढी आएपछि दबाब समूहका अध्यक्ष हरि ढकालले सोमबार नेप्से प्रमुख चन्द्रसिंह साउदलाई भेटेर समस्या समाधानमा ध्यान नदिए आन्दोलन थाल्ने चेतावनी दिएका छन् । 

ढकालले साउदलाई भेटेर यस्तो चेतावनी दिएको बताएका हुन् । 

नेप्सेको अनलाइन कारोबार प्रणालीको सुरुवात भएको १३ महिना भन्दा बढी समय भइसक्दा समेत समस्या आउन कम भएको छैन । बरु बजार बढ्न थालेपछि नेप्सेको सिस्टम एकाएक बिग्रिन थाल्छ । यसमा लामो समयदेखि अध्यक्ष ढकालले चलखेल हुने गरेको दाबी गर्दै आएका छन् । यस्तो चलखेल बन्द हुनुपर्ने माग गर्दै नेप्से पुगेका उनलाई साउदले सिस्टममा गडबडी रहेको स्वीकार गर्दै सुधार गर्दै लैजाने प्रतिबद्धता समेत जनाएका छन् । 

‘नेप्सेको अनलाइन कारोबार प्रणालीमा आइतबारको दिन जानाजान समस्या निम्त्याइएको कैयौ हप्ता भयो, यो सबै सुनियोजित छ ।’ साउदलाई भेटेर आएका ढकालले भने–‘सीइओसहितको नेप्सेको अनलाइन टिमले मैले राखेका समस्याहरु स्वीकारे । अब केही दिन हेर्छु पुनः यस्तो भए म नेप्सेमा लगानीकर्ताहरुको बाक्लो भीड लिएर जाँदैछु । मलाई लगानीकर्ताहरुको दैनिक जसो हजारौं  गुनासा आएपछि म एक्लै आज नेप्से गएर सुधारका लागि चेतावनी दिएको हुँ ।’ 

ढकाल मात्र होइन, नेप्सेको अनलाइन कारोबार प्रणालीको थोत्रे रेलको जस्तो गति देखेर पछिल्लो समय लगानीकर्ता र बजारकै जानिफकार समेत वाक्क भइसकेका छन् । अनलाइन कारोबार प्रणालीको भेण्डर कम्पनी वाइकोले नेप्सेको अनलाइन प्रणाली हस्तान्तरण गर्ने भित्रभित्रै तयारी भइरहँदा समेत सिस्टममा सुधार हुन सकेको छैन । बरु, अनलाइन प्रणालीको दुरुपयोग गरी नेप्सेकै कतिपय अधिकारीहरुबाट लगानीकर्ताहरुको सम्पत्तिमाथि गम्भीर खेलवाड गर्ने काम भइरहेको आरोप लाग्दै आएको छ ।

नेप्सेले सही तथ्याङ्क उपलब्ध नगराउँदा लगानीकर्ताहरुलाई मिसगाईड भइरहेको प्राविधिक विश्लेषक सूकराम पाण्डे जिकिर गर्छन् । ‘भाडो नराम्रो भएपछि यो फाल्नूको विकल्प नै नभएको’ पाण्डेको दाबी छ । नेप्सेको अनलाइनले विश्वसनीयता दैनिक गुमाइरहेकाले दोस्रो बजारमा समेत नराम्रो असर परिरहेको उनको भनाइ छ।

यता नेप्सेको अनलाइन कारोबार प्रणालीमा एक वर्ष बितिसक्दासमेत दैनिक सयौं समस्याहरु यथावत् नै हुनु निकै गम्भीर विषय भएको स्टक ब्रोकर्स एसोसिएसनका एक सदस्यले बिजशालासङ्ग बताए । ‘नेप्सेले अनलाइन ढिला या चाँडो हटाउनै पर्छ, म ठोकुवासाथ भन्दछु ।’ ती सदस्यले दाबी गर्दै भने । 

यो सिस्टम प्रमाणीकरण  गरिएको नभई परीक्षण मात्र गरिएको सिस्टम रहेको उल्लेख गर्दै उनले भने–‘अब अनलाइनकै कारण कति धेरै दुर्घटनामा म आफै परेको छु। जहाँ बिग्रेको छ त्यहाँ टाल्यो । यस्तो टालटुले पाराले कहिलेसम्म चल्छ ?’

बिजशालाले यस विषयमा केही  ब्रोकरहरुलाइ जिज्ञासा राख्दा सबैले नेप्सेको कमजोर अनलाइन प्रणालीका कारण दैनिक आजित भइरहेको सुनाए । नेप्सेको अनलाइन प्रणालीका विषयमा अख्तियारमा मुद्दाहरूको चाङ लागे पनि हालसम्म कुनै सम्बोधन नभएकोमा लगानीकर्ता समेत आश्चर्यमा छन् ।