काठमाण्डौ । प्रविधिको विकाससँगै विश्वमा अहिले अनलाइन ट्रेडिङ ट्रेन्ड बढ्दै गएको छ । घरमै बसेर मोबाइल वा कम्प्युटरमार्फत एक क्लिकको भरमा आफूलाई चाहिएको स्वदेशी तथा विदेशी ब्रान्डका वस्तुहरु आफ्नै घरदैलोमा मगाउन सकिन्छ ।

हिजोआज मानिसलाई आवश्यक वस्तुहरु छिटो र सहज तरिकाले उपलब्ध गराउने गतिलो माध्यम बनेको छ ‘अनलाइन सपिङ’ । नेपालमा पनि अनलाइन सपिङ गर्नेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । समय र पैसाको बचत, पसलेसँग गर्नुपर्ने मोलमोलाइको झन्झटबाट छुटकारा हुनुका साथै आफूले चाहेको ठाउँमै वस्तु उपलब्ध हुने भएकाले यसको चर्चा र प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको छ ।

अनलाइन सपिङको महत्व धेरै भए पनि सही तरिकाले प्रयोग गर्न नजान्दा यसबाट निम्तने समस्याहरु झनै धेरै छन् । यसका साथै अनलाइन सपिङमार्फत ठगीको सिकार हुनेको संख्या पनि बढ्दैछ ।

अनलाइन सपिङ गर्दा तपाइँको एउटा गल्तीले तपाइँको पूरै बैंक खाता रित्तिन पनि सक्छ । त्यसैले अनलाइन सपिङको भुक्तानी गर्दा विशेष सावधानी अपनाउनुपर्दछ । यहाँ हामी तपाइँलाई त्यस्ता केही साना कमजोरीहरुका बारेमा बताउँदैछौँ ।  जुन अनलाइन सपिङ गर्दा उपभोक्ताले प्रायः बारम्बार दोहोर्याउने गरेका छन् ।

१. ठगी गर्ने नियतले कयौँ अनलाइन साइट खोलिएका हुँदा अनलाइन सपिङ गर्दा सधैँ विश्वसनीय र प्रतिष्ठित वेबसाइटका माध्यमबाटै गर्नुपर्दछ । यसो गर्दा तपाइँ सम्भावित ठगीको सिकार हुनबाट जोगिन सक्नुहुन्छ ।

२. तपाइँको ई–मेल बक्समा धेरै प्रकारका प्रोमोसनल मेल पनि आइरहेका हुन सक्छन् । यस्ता कुनै–कुनै मेलमा लिंक पनि पठाइएको हुन्छ । यस्ता लिंकमा नबुझीकन कहिल्यै पनि क्लिक गर्नुहुँदैन । यसको साटो ब्राउजरको एड्रेस बारमा यूआरएल टाइप गर्नुपर्दछ ।

३. कुनै पनि वेबसाइटमा आफ्नो केही जानकारी दिनुभन्दा पहिले त्यस वेबसाइटको यू्आरएल सधैँ जाँच्ने गर्नुपर्दछ । कयौँपटक वेबसाइटमा पपअप विइन्डो खुल्ने गर्दछ । यस्ता कुनै पनि प्रकारका पपअप विइन्डोमा आफ्नो गोपनीय खाताको जानकारीहरु जस्तै क्रेडिट कार्ड नम्बर, एक्सपायरी डेटजस्ता अन्य जानकारी कहिल्यै दिनु हुँदैन ।

४. यदि तपाइँ निरन्तर रुपमा अनलाइन सपिङ गर्नुहुन्छ भने भेरीफाई बाई भिजा तथा मास्टर कार्ड सुरक्षित कोड प्रोग्रामका लागि साइनअप गर्नुहोस् । मास्टर तथा भिजा कार्डको सेक्युरिटी कोर्डको साटो मोबाइल फोनमा आउने वान टाइम पासवर्ड प्रगोग गर्नुस् । किनकि वान टाइम पासवर्ड धरै नै सुरक्षित हुने गर्दछ ।

५. नियमित रुपमा आफ्नो खाताका बारेमा अपटेड भइरहनुपर्छ । यसो गर्दा खातामा भएको बदमासी र हुन सक्ने थप क्षतिबाट बच्न सकिन्छ ।

६. कुनै पनि वेबसाइटमा लेनदेन गर्नुभन्दा पहिले वेबपेजमा प्याड लक सिम्बोल जाँच गर्नुपर्दछ । अनलाइन सपिङ साइटमा जानका लागि ई–मेल तथा रेफरल वेबसाइटको सहारा लिनु हुँदैन । एड्रेस बारमा सधैँ यूआरएल टाइप गर्नुुपर्दछ । – एजेन्सी