– भक्तराज रसाइली 

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सञ्चालनमा ल्याएको अनलाइन ट्रेडिङ सिस्टम (नट्स) करिब अढाइ वर्षमा अपार सफलता हासिल गरेको छ।

दोस्रो बजारमा कुल सक्रिय कारोबारी अढाइ वर्षकै दौरानमा ४९० प्रतिशतले बढेका छन् भने अनलाइन कारोबारीको संख्या ९ हजार २६९ प्रतिशतले वृद्धि भएको छ। 

गत २०७५ फागुनमा दोस्रो बजारमा कुल सक्रिय ८७ हजार ४२२ रहेकोमा कुल अनलाइन कारोबारमा समाहित हुनेमा ४ हजार ५१९ जना थिए। जसमध्ये सक्रिय अनलाइन कारोबारी भने ६९२ जना थिए। एक वर्षपछि अर्थात २०७६ फागुनसम्म कुल लगानीकर्ता २ लाख ६ हजार ९७२ रहेकोमा अनलाइन लिनेको संख्या २२ हजार ९७२ थिए। जसमध्ये ९ हजार ९८८ अनलाइन कारोबारी सक्रिय थिए। 

अहिले २ वर्ष ४ महिनापछि भने अनलाइन कारोबारीको संख्यामा मात्रै हैन कि आमलगानीकर्ताको पनि निकै उत्साहजनक उपस्थिति देखिएको छ। यो फागुनसम्ममा ५ लाख १५ हजार ८६२ लगानीकर्ता दोस्रो बजारमा सक्रिय छन्। हाल कुल अनलाइन कारोबार प्रणालीमा ४ लाख २३ हजार ३८१ समाहित भएकामध्ये २ लाख १३ हजार ८३० अनलाइन कारोबार प्रणालीमा सक्रिय छन्।

विगत १ वर्षमा अनलाइन कारोबारीको संख्या ह्वात्तै बढ्नुमा कोरोनाभाइरस महामारीलाई कारक तत्व मानिएको छ। विश्वव्यापी महामारी कोरोनाभाइरसले गर्दा पनि बाध्यता र आवश्यकता बन्दै गएपछि सेयर बजार पनि गुल्जार बन्दै गइरहेको अवस्था छ। विश्वमा सेयर बजारलाई प्रविधिमा परिणत गर्दा बजारको सूचक र कारोबार रकममा समेत अभूतपूर्व सहभागिता देखिएका उदाहरण छन््, जसमा नेपाल अछुतो रहने कुरै भएन। 

सुरुआतीताका नेप्सेको अनलाइन कारोबार प्रणालीमा विविध समस्या देखिए पनि विस्तारै अनलाइन कारोबार प्रणालीप्रति आम लगागीकर्ताले अपार विश्वास दर्शाएका छन्। अनलाइन कारोबार प्रणालीका कारण नेप्से परिसूचक र दैनिक कारोबार रकमसमेत उछाल आइरहेको छ।

पछिल्लो अवस्थामा प्राथमिक बजारमा नयाँ लगानीकर्ताको बाक्लो प्रवेशसँगै दोस्रो बजारमा पनि उक्त भीड देखिन्छ। देशको एकमात्र दोस्रो बजार कारोबार सञ्चालन गर्ने संस्था नेप्सेले पनि नट्स प्रयोगकर्ताको संख्या बढाउन पनि विशेष प्राथमिकता दिइरहेको छ।

वि.सं.२०७५ साल कात्तिक २० गते नेप्सेले अनलाइन कारोबार प्रणालीको उद्घाटन गरेको थियो। सुरुआती चरणमा अनलाइनमार्फत कारोबार प्रणालीमा उदासीनता नै छाएको थियो तर अहिले भने अनलाइन कारोबारीको संख्या लोभलाग्दो ढंगले बढेको छ। 

अढाइ वर्षअघि बजार बियरिस ट्रेन्डमा रहेको थियो। जसका कारणसमेत सेयर बजारमा चासो दिनेको संख्या निकै कम थियो। पछिल्लो अढाइ वर्षको दौरानमा लगानीकर्ता अनलाइन कारोबारमा अभ्यस्त हुँदै गएपछि अनलाइनले पनि सफलता हासिल गर्दै गरेको अवस्था हो। 

अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताको उत्साहजनक उपस्थितिले बजार थप स्वच्छ र पारदर्शीसमेत हुँदै गइरहेको छ भने समग्रमा पुँजीबजारको विकास तथा विस्तारमा समेत सघाउ पुगिरहेको छ।

नेप्से सूचक २६०० विन्दु पार गर्दै दैनिक कारोबार रकमसमेत १० अर्ब रुपैयाँ नाघिसकेको अवस्था छ। दैनिक कारोबारका दौरान ९० प्रतिशत हाराहारी अनलाइनमार्फत किनबेच हुन्छ भने सेयर खरिदबिक्रीबापत भुक्तानी पनि ८० प्रतिशत अनलाइनबाटै हुने गरेको छ।