काठमाण्डौ । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पूँजीबजारका लगानीकर्ताको माग यथासक्य चाँडो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । 

नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवाले अहिले सरकार हाँकिरहेका छन् । देउवा नेतृत्वको सरकारले पूँजीबजारका लगानीकर्ताको माग तत्काल सुन्नुपर्ने प्रधानमन्त्री सभापति रहेको पार्टी कांग्रेसका प्रवक्ता महतले बताए । 

खुमलटारमा पूँजीबजार सुधारसँग सम्बन्धित विभिन्न १९ वटा मागसहित आमरण अनसन बसिरहेका लगानीकर्ता तिलक कोइरालालाई भेट्न आज त्यहाँ पुगेका नेता महतले बजारबाट अनुचित फाइदा लिने निश्चित समूहहरुको निरुत्साहन र पूँजीबजारमा सर्वसाधारणको लगानीको सुरक्षाका लागि समेत सरकार र मातहतका सम्बद्ध निकायले ध्यान दिनुपर्नेमा जोड दिए । 

‘लगानीकर्ताको जायज माग सरकारका निकायहरुले यथासक्य पूरा गर्नुपर्ने आवश्यकता छ । अर्थमन्त्रालयदेखि राष्ट्रबैंक र धितोपत्र बोर्डसम्मको ध्यान म यसतर्फ केन्द्रीत होस् भन्ने चाहन्छु ।’महतले भने–‘पूँजीबजारमा लगानी भएको सानो सानो पूँजीको सुरक्षाको ग्यारेण्टी गर्न सकियो भने यहाँबाट कमाई हुने पैसा उत्पादनशील क्षेत्रमै खर्च हुन्छ । यसले देशको अर्थतन्त्रलाई नै टेवा पुग्छ ।’

उनले राष्ट्रबैंकतर्फ इंगित गर्दै कुनै पनि निकायको कुनै निर्णय वा नीति विशेषले सारा लगानीकर्ता प्रताडित हुनुपर्ने अवस्था आउनै नहुनेमा जोड दिए । ‘यो विषयमा हाम्रो पार्टी र नेतृत्व गम्भीर छ । तपाईहरुले उठाउनुभएको महत्वपूर्ण कुराहरुमा प्रधानमन्त्री तथा हाम्रा पार्टीका सभापति पनि जानकार नै हुनुहुन्छ । उहाँलाई थप गम्भीर बन्नुपर्ने गरी म दवाब दिनेछु ।’ उनले थपे–‘बजारमा जसरी अप्राकृतिक रुपलले आँच आएको छ । यो चिन्ताको विषय हो । यसतर्फ म सबै सम्बन्धित निकायको पार्टीको तर्फबाट ध्यानाकर्षण समेत गराउन चाहन्छु ।’ 

उनले तत्काल नीतिगत करेक्सन आवश्यक रहेको उल्लेख गर्दै यसतर्फ सरकारले सम्बद्ध निकायलाई निर्देशन दिनुपर्ने समेत बताए ।

लगानीकर्ताहरुले उठाएका विषय निकै गम्भीर रहेका उल्लेख गर्दै उनले आमरण अनसन नै बस्ने परिस्थिति सिर्जना हुनु र यस्ता अनसन बसे मात्र राज्यका निकायको ध्यान जान्छ भन्ने संस्कृतिको विकास हुनु गलत रहेको समेत बताए । ‘उहाँले अनसन बस्नुभएको आज ५ दिन भइसकेको छ, स्वास्थ्य पनि बिग्रिएको पाएँ ।’ उनले भने–‘यो पूँजीबजार मात्र होइन, समग्र जनताको विषय हो । राज्य वा त्यसका निकायका कुनै निर्णयले बजारमा अनपेक्षित प्रभाव परिरहेको छ भने त्यसलाई सकेसम्म चाँडो सम्बोधन गर्नु राज्यको दायीत्व पनि हो ।’ 

उनले सरकार र मातहतका निकायलाई अन्य काम थाँती राखेरै भए पनि पूँजीबजारका लगानीकर्ताको माग सम्बोधन गर्न आग्रह गरे ।