काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले मुद्रा तथा पूँजीबजार विकासका लागि डेपुटी गभर्नर नेतृत्वको कार्यदलले सुझाएका ५८ बुँदामध्ये कार्यान्वयनमा नआएका बुँदाहरुको तत्काल कार्यान्वयन गरिने वचन दिएका छन् । 

पूँजी बजार बिकास अभियानका संयोजक तिलक कोइरालाले माघ ८ गते सिंहदरबारमा अर्थमन्त्री बिष्णु पौडेललाई भेटी ५८ बुँदेृ मध्येका पूँजी बजारसँग प्रत्यक्ष रुपमा सम्बन्धित १८ वटा कामहरु तत्काल नभएका भन्दै अब पनि पूरा नभए फागुन १ गतेदेखि आमरण अनसन थाल्ने आफूले घोषणा गरेको बताएका थिए । 

सो क्रममा मुद्रा र पूँजी बजारसम्बन्धमा अध्ययन गर्न गठित समितिले समय तालिका र जिम्मेवार निकाय तोकी फिफारिस गरेका ५८ बुँदे सुझाव मध्ये पूँजी बजारसँग प्रत्यक्ष सम्बन्धित र अति महत्वपूर्ण १८ कामहरु नभएको भन्दै कोइरालाले अर्थमन्त्रीलाई लिखित रुपमा ध्यानाकर्षण गराएका छन् । 

अर्थमन्त्री पौडेलले आफ्नो प्राथमिकता पूँजी बजारकै पक्षमा रहेको भन्दै सम्बद्ध निकायका प्रमुख र जिम्मेवार अधिकारीहरुसँग तत्काल छलफल गर्ने बचन दिएका कोइरालाले बताए । 

पौडेलले भने, तपाइँले धेरै महत्वपूर्ण कुराको ध्यानाकर्षण गराउनुभयो, मेरो पनि कार्यसूची यही हो, राजनीतिक कारणले केही ढिला भए पनि अब तत्काल कदम चाल्छु ।

सरकार र नियमनकारी निकायहरुले दुई बर्ष अर्थात २०७५ सालमै पुरा गर्छु भनी बाचा गरेका कामहरु नहुँदा पूँजी बजार उच्च जोखिममा परेको भन्दै पूँजी बजार बिकास अभियानले बुधबार फागुन १ गतेदेखि आमरण अनशन थाल्ने घोषणा गरेको थियो ।