– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले सात दिनदेखि पूर्वका औद्योगिक क्षेत्रहरुमा १२ घन्टादेखि १४ घन्टासम्म लोडसेडिङ सुरु गरेसँगै उद्योगीहरु मर्कामा परेका छन्। विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका नदिँदा कर्मचारीहरु उद्योगमा त्यत्तिकै बस्नुपरेको र दैनिक लाखौँको घाटा भइरहेको उनीहरुको गुनासो छ। 

उद्योगी तथा मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवनकुमार शारडा लोडसेडिङको तालिकाका साथै एकनासको लोडसेडिङ नहुँदा उद्योगीहरु मर्कामा परेको बताउँछन्। ‘कुनै क्षेत्रमा ६ घन्टा लोडसेडिङ हुँदा अर्को क्षेत्रमा १४ घन्टासम्म लोडसेडिङ हुन्छ’, उनले भने, ‘तालिका नदिँदा कर्मचारीहरु फ्याक्ट्री आउँदै फर्किंदै गरेका छन्। विद्युत् प्राधिकरणमा तालिका माग्दा लाइन भएको बेला दिने नत्र नदिने भन्ने जबाफ आउँछ।’

शारडा हिजोमात्र विराटनगरमा १४ घन्टा लोडसेडिङ भएको बताउँछन्। ‘एक दिन त लाइन नै आएन’, उनी भन्छन्, ‘लोडसेडिङ गर्ने नै हो भने एकनासको गर्नुपर्छ। डमेस्टिकलाई दिने उद्योगलाई नदिने, एउटा क्षेत्रलाई दिने अर्कोलाई नदिनेजस्तो भेदभाव विद्युत् प्राधिकरणले गर्नु हुँदैन।’ 

‘विद्युतमा मुलुक आत्मनिर्भर भएको छ भनेर झुटो प्रचारप्रसार गरियो’, शारडा भन्छन्, ‘७ दिनअघिसम्म मन्त्रीहरुले लगानी गर्नुहोस्, उद्योग सञ्चालन गर्नुहोस्, हाम्रोमा विद्युत् फालाफाल छ भन्नु हुन्थ्यो। नेपालको विद्युत् अब छिट्टै बंगलादेश बेच्नेजस्तो जनतालाई झुटो कुरा किन गरियो भन्ने प्रश्नको जबाफ सरकारले दिनुपर्छ।’

‘बैंकमा कर्जा पनि दिँदैन विद्युत् पनि छैन कसरी उद्योग सञ्चालन गर्ने ?’ प्रश्न गर्दै शारडाले भने, ‘समस्या पर्दा हामी पनि बुझ्छौँ तर एउटालाई राम्रो अर्कोलाई मर्कामा पर्ने काम भने बन्द गर्नुपर्छ।’

‘बंगलादेश, भारतमा विद्युत् बेच्ने भाषण गर्दै गर्दा लोडसेडिङ किन भयो ?’ प्रश्न गर्दै अर्का उद्योगी महेश जाजु भन्छन्, ‘एउटा ठाउँमा विद्युत् दिने अर्कोमा नदिने गरिएको छ। समयमा तालिका नदिँदा मजदुरले काम गर्न पाएका छैनन्। हामीले मजदुरलाई त्यत्तिकै राखेर पैसा दिन सक्दैनौँ। लोडसेडिङ नहुनुपर्नेमा भयो। तर अहिले जुन बेला पनि लोडसेडिङ हुन्छ। फिक्स टाइम छैन। त्यसैले लोडसेडिङ गर्ने नै हो भने तालिका सार्वजनिक गरेर एक समानले गर्नुपर्छ।’

‘डेढ महिनासम्म लोडसेडिङ हुने सुनिन्छ। हामीले कसरी उद्योग सञ्चालन गर्ने ?’, जाजु भन्छन्, ‘डिजेल, पेट्रोलको महँगीले गर्दा सबै उद्योगीको जेनरेटर राख्ने अवस्था पनि छैन। त्यसैले छिटोभन्दा छिटो विद्युत् प्राधिकरणले व्यवस्थापन गरी विद्युतको आपूर्ति सहज गराउनुपर्छ। समयमा नै त्यसो नगर्दा सयौँको संख्यामा उद्योगधन्दा बन्द नहोला भन्न सकिन्न।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उद्योगीहरुले करिब १५ घन्टा विद्युत् पाइरहेको बताउँछन्। ‘लोडसेडिङको समस्या छिट्टै नै हल हुन्छ। अहिले हामीले उद्योगीहरुलाई पिक आवर अर्थात् राति नचलाउनु भनेका छौँ’, उनले भने।