काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र बनाउन मोबाइलले ठूलो मद्दत गर्ने बताएका छन्। 

राजधानीमा बुधबार आयोजित नेपाल मोबाइल वितरक संघद्वारा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। 

नेपाली युवाहरुले नेपालमै उत्पादन गरी केही महिनाभित्रै बजारमा ल्याउने भनिएको ‘मेरो मोबाइल’ को उदाहरण दिँदै शर्माले अन्य व्यवसायीलाई मोबाइल विदेशबाट ल्याउनेमात्र नगरेर उत्पादन गर्न पनि सुझाव दिए। मोबाइल उत्पादनका लागि चाहिने सहयोग र छुट दिन सरकार तयार रहेको शर्माले बताए। ड्यासमा बसेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई इंगित गर्दै शर्माले भने, ‘मोबाइल उत्पादन गर्न पक्कै पनि अनिलजीले लोन दिनुहुन्छ होला!’

तर विडम्बना अहिले बैंकहरुले कुनै पनि किसिमको कर्जा दिने अवस्थामा नरहेको बैंकरहरु बताउँदै आएका छन्। केही दिनअघि बिजशालासँग कुरा गर्दै नबिल बैंका महाप्रबन्धक मनोज ज्ञवालीले बैंकमा कर्जाको ग्रोथ नभएकाले बैंकले कुनै पनि किसिमको कर्जा दिने अवस्था नभएको बताएको थिए। अहिले तरलता संकटसँगै बैंकले कर्जा दिन नसक्दा व्यवसायी, लगानीकर्ता, पेसाग्राही सबै मारमा छन्।

तरलता संकटका कारण ब्याजदर बढ्नुका साथै बैंकले कर्जा दिन नसकेकाले अर्थमन्त्रीलाई बारम्बार विभिन्न संघसंगठनका प्रमुखका साथै अगुवाहरुले भेटवार्ता गर्दै आएका छन्। बैंकहरुमा तरलता संकटका कारण कुनै पनि किसिमको कर्जा वितरण गर्ने अवस्था नभएको बेला अर्थमन्त्रीले बैंकर शाहलाई इंकित गर्दै बैंकहरुले कर्जा दिन्छन् भन्नु अर्को आश्वासनमात्र देखिन्छ। 

कार्यक्रममा अर्थमन्त्री शर्मा स्वयंले तरलता संकट बजेट खर्च नहुनेजस्ता समस्याहरुका कारण हुँदै आएको बताए।  

कार्यक्रममा अर्थमन्त्री शर्माले डिजिटल करेन्सीमा पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर गृहकार्य भइरहेकोसमेत बताए। ‘मैले अर्थमन्त्री भएपछि आफैँले गर्न सक्ने त्यस्तो केही पनि होइन’, उनले भने, ‘देशको अर्थतन्त्र, ऋणको भारी, गरिबिको अवस्था, बजेट खर्च नहुने संयन्त्र, राज्यको सोचहरु सबै उस्तै छन्। त्यसलाई सुधार गर्न प्रयत्न गर्ने हो। जसका लागि उत्पादन मुखी अर्थतन्त्र लागौँ है भनेर बारम्बार जोड दिइरहेको छु।’