काठमाण्डौ । १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा हारेर सबैभन्दा धेरै हार्ने नेताको इतिहास बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपछि अर्को गर्दै दुईवटा ठूला हार व्यहोर्नुपरेको छ । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग फराकिलो अन्तरले शर्मनाक हार व्यवहोरेका पौडेलले पार्टीको संसदीय दलको नेता चयनको निर्वाचनमा समेत ठूलै अन्तरले हार व्यहोर्नु परेको छ । 

बुधबार सानेपास्थित पार्टी कार्यालयमा कांग्रेसको संसदीय दलको नेता चयनका लागि विद्युतीय मेसिन प्रयोग गरी मतदान भएको थियो । मतदाता सांसदहरु २ सय ७ रहेकोमा नरहरि आचार्य बिरामीका कारण उपस्थित हुन सकेनन् । २ सय ६ जनाले मतदानमा सहभागिता जनाएकोमा पार्टी सभापति शेरबहादुर देउवाले १ सय ३९ मत प्राप्त गरे भने पौडेलले ६७ मत मात्रै प्राप्त गरे । दोब्बर भन्दा बढी मत अर्थात ७२ मतले संसदीय दलको नेताको निर्वाचन जितेपछि शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने आधिकारिक बाटो खुलेको छ । 

कांग्रेस बिधानमा संसदीय दलको नेतालाई पार्टीका तर्फबाट प्रधानमन्त्रीको आधिकारिक उम्मेद्वार हुन योग्य व्यक्ति भनेर परिभाषित गरिएको छ । यद्यपि, शानदार ढंगले चुनाव जितेको सभापति देउवाले आफूहरुलाई सरकारमा जाने कुनै हतारो नभएको प्रतिक्रिया दिएका छन् । उनले आफूहरु बलियो प्रतिपक्षी नै भएर सत्ताबाहिर रहने उद्घोष समेत गरे । 

उनले पार्टीभित्रको असन्तुष्टिहरुको सकेसम्म व्यवस्थापन गर्ने र सिंगो पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने प्रतिबद्धता समेत जनाएका थिए । 

स्रोतका अनुसार पौडेल समूहका २० जना भन्दा बढी सभासदले मंगलबार साँझ देउवालाई अर्जुन नरसिंह केसीको घरमा आयोजित छलफलमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए । आफ्नै समूहका सांसदहरुलाई समेत आफ्नो क्याम्पमा रोक्न नसकेकै कारण पौडेलको शर्मनाक हार भएको स्रोत बताउँछ । त्यसो त पौडेल आफैं पनि संसदीय दलको नेताको चुनाव जित्ने आशामा थिएनन्, उनले आफ्नो क्याम्पको नेताको रुपमा आफूलाई स्थापित गराउनैका लागि हार्नैका लागि भए पनि चुनाव लडेका धेरैको बुझाई छ ।