काठमाण्डौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का कारबाहीमा पर्ने भएका छन् । उनको नेतृत्वमा आयल निगमले ७ वटै प्रदेशमा तेल भण्डारणका लागि जग्गा खरीद गर्दा करोडौं भ्रष्टाचार भएको ठहर भएपछि आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले खड्कामाथि कारबाहीको सिफारिस गरेका हुन् । 

जग्गा खरीद प्रकरणमा घोटाला भएको बिषय बाहिर आएपछि सो बिषयमा छानबिन गर्न मन्त्रालयले निगम संचालक समितिका अध्यक्ष समेत रहेका सचिव देवकोटालाई निर्देशन दिएको थियो । 

सोही जिम्मेवारी पूरा गर्दै सचिवको नेतृत्वमा भएको छानबिनको क्रममा गोपाल खड्काले जग्गा खरीद प्रकरणमा करोडौं भ्रष्टाचार गरेको देखिएपछि उनलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरिएको हो । कारबाहीको सिफारिस गरी सचिव देवकोटा भने चीन भ्रमणमा निस्किएका छन् । 

खड्कालाई आयल निगममा राखिरहँदा राज्यलाई थप क्षति हुने भन्दै उनलाई तत्काल जिम्मेवारीबाट हटाएर मन्त्रालय तान्नुपर्ने सचिव देवकोटाको प्रतिवेदनले सुुझाएका स्रोतले बतायो । यहीकारण निगम संचालक समितिको सोमबार साँझ बसेको बैठकले खड्कालाई मन्त्रालय तान्ने निर्णय गरिसकेको छ । 

यसअघि व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा  उपभोक्ता हित सम्बन्धी समितिले खड्काको नेतृत्वमा निगमले पेटोलियम भण्डारणका लागि जग्गा खरीद गर्दा १० गुणा बढी मूल्य तिरेको देखाएर ठूलो रकम घोटाला भएको भन्दै खड्कामाथि कारबाही हुनुपर्ने निश्कर्ष निकालेको थियो । 

संसदीय समितिको निश्कर्षलाई समेत ध्यानमा राखी सचिव देवकोटाले खड्कामाथि कारबाहीको सिफारिस गरेका बताइएको छ । 

आपूर्तिमन्त्री शिवकुमार मण्डलले बिजशालासँग टेलिफोनमा कुरा गर्दै सचिवले कारबाहीको सिफारिस गरेको खुलाए । उनले खड्कालाई क्याबिनेटले आयल निगमको कार्यकारी निर्देशक बनाएकोले सोही ठाउँबाट सिफारिस भए बमोजिमको कारबाहीको निर्णय हुनुपर्ने बताए । ‘सचिवजीको सिफारिसलाई म इमानदारीपूर्वक कार्यान्वयनमा सहयोग गर्र्छु ।’–उनले भने ।