काठमाण्डौ । अन्ततः अर्थ मन्त्रालयले मन्त्रीपरिषद बैठकको निर्णयलाई आधार बनाउँदै नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको पद खारेजीमा परेको पत्र पठाएको छ । 

अर्थमन्त्रालयले आइतबार नेप्सेलाई प्रमुख कार्यकारी अधिकृतको नियुक्ति खारेजीमा परेको पत्र पठाएको हो । अर्थमन्त्रालयले पत्र पठाए पनि आइतबार साउदले बुझ्न भ्याएनन् । सोमबार मन्त्रालयबाट आएको खारेजीको पत्र बुझ्ने उनको योजना रहेको उनी निकटस्थहरुले बताएका छन् । 

गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले २०७४ साल भदौ १४ पछि(असोज २३ गते) तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै विभिन्न निकायमा गरेको नियुक्ति एकमुष्ट खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयका कारण भदौ १४ गते भन्दा पछाडि नेप्सेको सीइओ नियुक्त साउदलाई खारेजीको पत्र पठाइएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । 

तत्कालीन अवस्थामा अर्थमन्त्रालयबाट गठित छनौट तथा सिफारिस समितिले नेप्से प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । सो क्रममा साउदसहित १३ जनाले आवेदन दिएका थिए । उनीहरुको कार्यानुभव, प्रस्तुती तथा योजनाका आधारमा समितिले १३ बाट ५ जनाको नाम छनौट गरेको थियो । ती पाँचमध्येबाट पनि ३ जनाको नाम छनौट गरी क्याबिनेटमा सिफारिस गरिएको थियो । ती तीन नाममध्ये तत्कालीन देउवा सरकारले चन्द्रसिंह साउदलाई ४ वर्षका लागि नेप्से प्रमुख बनाउने निर्णय गरेको थियो । 

साउदले बिजशालासँग कुरा गर्दै सरकारले गरेको निर्णय र त्यसपछि पठाइएको पत्रको बिषयमा आफ्नो धारणा बनाउन कानून व्यवसायीहरुसँग छलफल गरिरहेको बताए । ‘साथीभाईको सल्लाह अनुसार अगाडि बढ्छु ।’ उनले भने–‘म जागिरे मान्छे हो, सरकारको निर्णयलाई चुनौति दिन सकिन्न, तर ममाथि पनि अन्याय हुन भएन ।’

अनलाइन सर्नसक्ने !
नेप्से प्रमुख भएर पदभार ग्रहण गरेपछि चन्द्रसिंह साउदले अनेक आलोचना, बाधा र व्यवधानलाई समेत पन्छाउँदै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको कामलाई तीव्र रुपमा अगाडि बढाएका थिए । उनकै सक्रिय नेतृत्वका कारण अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षणको काम अन्तिम चरणमा छ । उनले साउन १ गतेदेखि अनलाइन कारोबार प्रणालीलाई पूर्ण परीक्षणमा ल्याउने लगायतका समयतालिका नै सार्वजनिक गरेका थिए ।

लगानीकर्ताको व्यग्र प्रतिक्षाको यही बिषयमा नेप्से प्रमुखको नियुक्तिको आकस्मिक खारेजीले केही नकारात्मक प्रभाव पार्ने हो कि भन्ने चिन्ता समेत व्यक्त हुन थालेको छ । अब अनलाइन प्रणालीको काम के होला ? हामीले यही प्रश्न साउदलाई पनि गरेका थियौं । उनले भनेका छन्–‘एउटा व्यक्ति जाँदैमा पूर्वनिर्धारित कार्यक्रम नहुने भन्ने कुरा हुँदैन । सरकारले लाखौ सेयर लगानीकर्ताहरुको हितलाई ध्यानमा राखेर अनलाइन प्रणालीको पूर्ण परीक्षण हुन दिनुपथ्र्यो । मेरो पद गयो भन्नेमा मलाई चिन्ता होइन, समयमै अनलाइन प्रणाली नआउला कि भन्नेमा म चिन्तित छु । किनभने नेप्से प्रमुखविहीन भएकै अवस्थामा अनलाइन प्रणाली नआउनसक्छ । नयाँ प्रमुख नियुक्त गर्न समय लाग्ला, यस्तो भयो भने साउन १ गतेदेखि अनलाइनको पूर्ण परीक्षण हुन सकेन भने अब अचम्ममा नपर्दा हुन्छ।’