काठमाण्डौ । राष्ट्रियसभाको आज भएको उपचुनावमा रामबहादुर थापा बादललाई हराउँदै डा. खिमलाल देवकोटा विजयी भएका छन् । 

एमालेको आधिकारिक उम्मेद्वार बादललाई हराउँदै एमालेकै माधव नेपाल पक्ष, कांग्रेस र माओवादीको समर्थन प्राप्त डा. देवकोटाले चुनाव जित हासिल गरेका हुन् । 

देवकोटाले कुल ५०८८ मतभारसहित विजय हासिल गरेका हुन् ।बादलले ४०१४ मतभार पाए भने नेमकिपाका कृष्ण तामाङले १३२ मतभार प्राप्त गरे । 

बादल आज नै सर्वोच्च अदालतको आदेशबाट मन्त्री पदबाट मुक्त भएका थिए । आजै उनले चुनावमा समेत पराजय भोग्नु परेको छ । 

उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५  जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका थिए।