काठमाण्डौ । अन्तिम दिनमा आएर आवेदनको ओइरो लागेपछि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले प्रवद्र्धन गरेको दोश्रो म्युचुुअल फण्ड लक्ष्मी इक्वीटी फण्डमा माग गरेभन्दा बढी आवेदन परेको छ । 

तेश्रो दिनसम्म लाजमर्दो अवस्था रहेको यो स्किममा अन्तिम दिनसम्म भने केही बढी आवेदन परेको हो । 

लक्ष्मी इक्वीटी फण्डको १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाईको सार्वजनिक निश्कासन गरेको थियो । कुल १ अर्ब रुपैयाँको यो स्किममा १ अर्ब ८८ करोड २६ लाख बराबरको आवेदन परेको हो ।

लक्ष्मी क्यापिटल मार्केटले १ अर्ब ८८ करोड बढीको आवेदन परेको भन्दै स्किमको साइजलाई २५ प्रतिशत बढाएर १ अर्ब २५ करोड पुर्याएको छ । यो स्किममा बैशाख २८ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थियो । 

लक्ष्मी क्यापिटल मार्केटले प्रबन्धन गरेको र लक्ष्मी बैंक लिमीटेडले प्रायोजन गरेको स्किम ७ वर्षे बन्दमुखी म्युचुअल फण्ड हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ सय देखि अधिकतम १ करोड युनिटसम्मका लागि आवेदन दिनसक्ने व्यवस्स्था मिलाइएको छ । कुल १० करोड इकाईमध्ये १.५० करोड इकाई लक्ष्मी बैंकका लागि र ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

लक्ष्मी क्यापिटलले यसअघि नै पहिलो म्युचुअल फण्डको रुपमा लक्ष्मी भ्यालू फण्ड १ संचालन गरिरहेको छ । यो स्किमका चैत अन्तिसम्मको नेट एसेट भ्यालू प्रति इकाई १३ रुपैयाँ ४६ पैसा रहेको छ ।