काठमाण्डौ । एउटा बैंकको कार्डबाट अर्को बैंकको एटीएमबाट पैसा झिक्दा लाग्ने शुल्क घटेको छ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९ जारी गर्दै अन्तर एटीएम कारोबारमा लाग्ने शुल्क घटाएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुले एकपटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन्। यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रतिकारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो।
अब हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने भएको छ। यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो। डेबिट कार्डबाट एकपटकमा २५ हजार, दैनिक १ लाख र महिनामा ४ लाख रुपैयाँसम्म एटीएमबाट झिक्न पाइने व्यवस्था गरिएको छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एप्लिकेशन (एप) वा इन्टरनेट बैंकि मार्फत विद्युतीय रकमान्तर (इन्टर बैंक फन्ड ट्रान्सफर) गर्दा सेवा प्रदायकहरुले प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि निर्देशनमा गरिएको छ। यसअघि यस्ता कारोबार गर्दा लिने शुल्क तोकिदिएको थिएन।
यस्तै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढेको छ।
अब मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरिएको छ। यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो।
त्यस्तै वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ। अब वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा दैनिक २ लाख रुपैयाँसम्म कारोबार (ट्रान्सफर) गर्न सकिनेछ। यसअघि यस्तो सीमा जम्मा १ लाख रुपैयाँसम्म थियो। यस्तो कारोबार प्रतिमहिनाका लागि भने पुरानै सीमा १० लाख कायम गरिएको छ।
एक वालेटबाट अर्को वालेटमा कारोबार गर्न सकिने रकमको सीमा भने घटाइएको छ। वालेट–वालेट कारोबार यसअघि दैनिक १ लाख रुपैयाँ रहेकोमा अब ५० हजार कायम गरिएको छ। वालेटमा अधिकतम ५० हजार रुपैयाँसम्म मात्रै रकम राख्न पाइने व्यवस्था छ।
भुक्तानी सेवा प्रदायक संस्थाले रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आउने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स भित्र्याउन सक्नेछन्।
यसैगरी वालेटमार्फत गरिने राजस्व भुक्तानीको सेवा शुल्क पनि केही घटाइएको छ। अब ५ हजारसम्मको यस्तो कारोबारमा ५ रुपैयाँ, ५ देखि १० हजारसम्म कारोबारमा ८ रुपैयाँ र १० हजारमाथिको कारोबारमा १० रुपैयाँ सेवा शुल्क कायम गरिएको छ। यसअघि यस्तो शुल्क ५ देखि २० रुपैयाँसम्म थियो।
त्यस्तै एजेन्टमार्फत वालेटमा ५ हजारसम्म रकम लोड गर्न र झिक्दा ५ रुपैयाँ शुल्क काटिनेछ। ५ देखि १५ हजारसम्मका लागि १५ रुपैयाँ तथा १५ देखि २५ हजार रुपैयाँसम्मका लागि २५ रुपैयाँ शुल्क लाग्नेछ। वालेटबाट बैंकमा रकमान्तर गर्न १० रुपैयाँ शुल्क लाग्नेछ।
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago