काठमाण्डौ । तरलतामा सुधार हुँदै जाँदा अन्तरबैंक ब्याजदर ह्वात्तै घटेको छ। 

तरलतामा दबाब कम हुन थालेपछि अन्तरबैंक ब्याजदर घटेर १ प्रतिशतभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म अन्तरबैंक ब्याजदर ०.९६ प्रतिशतमा सीमित बनेको छ। गत सातासम्म अन्तरबैंक ब्याजदर ४ प्रतिशत माथि रहेको थियो। 

केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले अहिले बैंकिङ प्रणालीमा ५३.८६ अर्ब तरलता रहेको जानकारी दिए। ‘बैंकहरु निक्षेप बढेको छ’, उनले भने, ‘प्रणालीमा पुनकर्जा थपिएसँगै तरलता सहज हुँदैछ। जसका कारण अन्तरबैंक ब्याजदर घटेको हो।’
ढकालका अनुसार स्वीकृति पुनरकर्जाको १४० अर्बमध्ये हालसम्म बैंकहरुले ११० अर्ब लगिसकेका छन्। ‘यो सातामात्रै बैंकहरुले पुनरकर्जाको १० अर्ब रुपैयाँ लगेका छन्’, उनले भने, ‘अब पुनरकर्जाको ३० अर्ब बैंकहरुले लैजान बाँकी छ।’

सरकारले पुँजीगत खर्च बढ्दै गएकोले पनि तरलता सहजता हुँदै गएको प्रवक्ता ढकाल बताउँछन्। ‘त्यसैले तत्काल बैंकहरु ब्याजदर बढ्ने सम्भावना छैन’, उनले भने।