काठमाण्डौ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन्।   

विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए। जसले अन्तर्राष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो।       

विमानस्थलको फाइल फोटो तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार वटा बेल्ट पुगेका छन्। यसअघि विदेशबाट नेपाल आइपुगेपछि ब्यागेज लिन बढीमा करिब चार घन्टासम्म यात्रुले कुर्नुपर्ने बाध्यता थियो । थप बेल्ट जडानपछि अब यात्रुले आफ्नो लगेज बढीमा ४५ मिनेटभित्र पाउने बताइएको छ।       

उक्त नयाँ बेल्टको सुक्रबार साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले शुभारम्भ गर्दै अन्तर्राष्ट्रिय मापदण्डको कन्भेयरले यात्रुको सुविधाका लागि सहज हुने बताए।    

उनले देशकै प्रतिष्ठासँग जोडिएको अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकार लागि परेको जानकारी पनि दिए। रासस