काठमाण्डौ । सरकारले उपत्यकाबाहिर रहेका विदेशी पर्यटकलाई काठमाण्डौ प्रवेश गर्न दिने भएको छ। 

गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेख्दै विदेशी पर्यटकलाई काठमाण्डौ आउन सहजीकरण गर्न निर्देशन दिएको हो। कोरोना महामारी नियन्त्रण गर्न हाल ४० वटा जिल्लामा पूर्ण निषेधाज्ञा र १२ वटामा आंशिक निषेधाज्ञा लगाइएको छ। यस्तो अवस्थामा उपत्यका प्रवेशमा असहज हुँदा विदेशी पर्यटकलाई समस्या भइरहेकोले सहजीकरण गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई निर्देशन दिएको हो। 

गृह मन्त्रालयले पठाएको पत्रमा राहदानी र भिसा हेरेर काठमाण्डौ आउन चाहने विदेशी पर्यटकलाई पठाउन सहजीकरण गर्न भनिएको छ। यसरी उपत्यका भित्रिने विदेशी पर्यटकहरुलाई नियमानुसार काठमाण्डौका होटेल क्वारेन्टिनमा बस्ने गरी सहजीकरण गर्न पनि प्रशासनलाई निर्देशन दिइएको छ। 

सम्बन्धित मुलुक फर्किन चाहने पर्यटकलाई हवाई टिकटका आधारमा पठाइने पनि मन्त्रालयले जनाएको छ।