काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजारमा भारी गिरावट आएको छ। 

आज बजार ६५.५८ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २५०६.६१ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.२५ अंकले तल झर्दै ४५२.७९ को विन्दुमा समेटिएको छ। आज कारोबार रकम पनि घटेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ।

बजार जानकार प्रेम ओली हिजोआजको बजार घट्नुमा कोरोना त्रासको प्रत्यक्ष प्रभाव परेको बताउँछन्। ‘बजार अहिले थुप्रै अपरिपक्व नयाँ लगानी भित्रिएका छन्, उनीहरुमा बजार बन्द हुने त्रास देखियो र धमाधम घाटामै सेयर बेच्न थालेको देखियो’, उनले भने, ‘यही कारणले बजार घट्न पुग्यो।’

अहिलेको अवस्थामा टाठाबाठा लगानीकर्ताहरुले भने धमाधम सेयर उठाउने मौका पाइरहेको पनि ओलीको भनाइ छ। ‘किनकि उनीहरुले बुझेका छन् कि बजार अवश्य फर्किन्छ’, उनले भने।

सम्बन्धित निकायले बजारमा फैलिएको कोरोनाको त्रास तथा भ्रम नहटाएसम्म अझै केही दिन घट्न सक्ने ओलीको तर्क छ। ‘तर कोरोनाकै कारण अन्य क्षेत्र प्रभावित भएकोले सेयर बजारमै लगानी भित्रिने हो, त्यसैले बजार कुनै पनि समयमा फर्किन सक्छ’, उनले भने।

अर्का बजार जानकार रंगनाथ श्रेष्ठ पनि कोरोनाको त्रास नयाँ लगानीकर्ताहरुमा अत्याधिक देखिएकोले बजार घट्न पुगेको बताउँछन्। ‘प्राविधिक हिसाबले बजार अब धेरै घट्ने सम्भावना छैन’, उनले भने, ‘बजार बुझेका लगानीकर्ताहरुले धमाधम सेयर किनिरहेका छन्, बजार अब कुनै पनि बेला फर्किन सक्छ।’

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज निर्जीवन बीमा कम्पनी सर्वाधिक ३८४.५३ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह ३५९.१८ अंकले घटेको आज बैंकिङ समूहमा ४०.७३ अंक, व्यापार समूहमा १२७.३५ अंक, होटेल तथा पर्यटन समूहमा ७१.४३ अंक, विकास बैंक समूहमा ८८.०९ अंक, जलविद्युत् समूहमा ९९.४४ अंक, वित्त समूहमा २७.७७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९५.५५ अंक, अन्य समूहमा ५४.०४ अंक, लघुवित्त समूहमा ११२.३४ अंक, म्युचुअल फन्ड समूहमा ०.११ अंक र लगानी समूहमा २.७५ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका १ करोड २९ लाख ११ हजार ७२१ कित्ता सेयर ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन माथिल्लाको तामाकोशीको सर्वाधिक ३१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २५ करोड २९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको २० करोड २४ लाख रुपैयाँ, नबिल बैंकको १९ करोड ५३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ७४ लाख रुपैयाँ, नागरिक लगानी कोषको १६ करोड ९५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ३२ लाख रुपैयाँ, प्रभु बैंकको १५ करोड १२ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १५ करोड ५ लाख रुपैयाँ र एनसीसी बैंकको १३ करोड २६ लाख रुपैयाँ बढी कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ। 

यो दिन रिलायन्स फाइनान्सको सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशत बढीको गिरावट आएको छ।