काभ्रे । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। 

निजी क्षेत्रबाट निर्माणाधीन सो आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले जानकारी दिए। आयोजनाबाट उत्पादित विद्युत् दसैँअगावै परीक्षण गर्ने तयारीमा रहेको उनको भनाइ छ। 

सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको बताइएको छ। जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाँधी चार हजार ५०० मिटर ९४५००० सुरुङबाट वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युतगृहमा पानी खसालिने छ। 

आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारण लाइनबाट लामोसाँघुस्थित सव–स्टेशनमा आबद्ध गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।

विसं २०७२ मा सुरु गरिएको आयोजना ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि बाढीपहिरो तथा कोभिड–१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ। 

बलेफी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। धितोपत्र बोर्डबाट अनुमति पाएपछि यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि गरी कुल ३६ लाख ५५ हजार ९४० कित्ता आईपीओ निष्कासन गर्नेछ। 

- RSS