काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक डाकेको छ।

कम्पनी सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को १२ औँ र १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १९ गते डाकेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नेपाल विद्युत प्राधिकरणमा भर्चुअल माध्यमबाट बिहान ११ः३० बाट सुरु हुनेछ। 

सभाले दुवै आर्थिक वर्षमा आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरुलगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयानुसार आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्नेछ। 

दुवै आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले आउँदो असोज ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ ३१ गतेसम्म (असोज १ गते शुक्रबार, असोज २ गते शनिबार र असोज ३ गते संविधान दिवसको सार्वजनिक बिदा परेको) सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।