काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा इन्साइडर ट्रेडिङका घटनाहरु उल्लेख बढेका छन्। 

गत वर्ष भदौको पहिलो साता ३२०० उच्च विन्दुमा पुगेको बजार राष्ट्र बैंकको केही नीतिका कारण लगातार ओरालो लाग्यो। हाल बजार २००० विन्दुमा रहेको छ। 

एकातिर बजार ओरालो लागेर आमलगानीकर्ता निकै प्रताडित भएका छन् अर्कोतिर घटेको बजारमा इन्साइडर ट्रेडिङका घटना मौलाउँदा टाठाबाठाहरु मालामाल बनिरहेका छन् भने सोझा लगानीकर्ता फसिरहेका छन्। 

इन्साइडर ट्रेडिङको पछिल्लो उदाहरणका रुपमा अपर तामाकोशी हाइड्रोपावरलाई लिन सकिन्छ। 

अघिल्लो साता लगातार घटिरहेको यो कम्पनीको सेयरभाउ यो साता भने लगातार बढ्यो। गत सोमबार प्रतिकित्ता ४८२ रुपैयाँमा कारोबार भएको यो कम्पनीको सेयरभाउ बिहीबारसम्म बढेर ५४० रुपैयाँ पुगेको छ। हिजो (बिहीबार) एकैदिन प्रतिकित्तामा ३६ रुपैयाँ यो कम्पनीको सेयरभाउ बढेको छ। 

यसरी एकाएक अपर तामाकोशीको सेयरभाउ बढ्नुमा हकप्रद जारी गर्ने सूचना चुहिनु नै रहेको पुष्टि भएको छ। बजारमा पछिल्ला केही दिनदेखि यो कम्पनीले सतप्रतिशत हकप्रद निकाल्ने तयारी गर्दैछ भन्ने हल्ला चलाइएको थियो। ‘हकप्रदको सूचना कम्पनीकै सञ्चालक र उच्च तहका कर्मचारीबाट चुहिएको हुन सक्छ’, एक लगानीकर्ताले भने, ‘यसरी कम्पनीले आधिकारिक रुपमा निर्णय गरिनसकेको अवस्थामा बजारमा सूचना चुहाउनेमाथि कारबाही हुन्छ। यस्ता सूचना सोझा लगानीकर्ता फस्छन्। बाठाले कमाउँछन्।’

अपर तामाकोशीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपात अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाउने तयारीमा कम्पनी रहेको छ।

अपर तामाकोशीको सेयरमा इन्साइडर ट्रेडिङ भएको पछिल्लो उदाहरणमात्र हो। 

यसअघि लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा पनि हकप्रद सेयर जारी गर्ने निर्णय हुनुभन्दा करिब २ साताअघि नै बजारमा सूचना चुहाएर मूल्य उचाल्ने काम भएको थियो। यस विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई स्पष्टीकरण सोधेको थियो। तर, कम्पनीले आफूहरुले सूचना नचुहाएको भन्दै पन्छियो। त्यसपछि सेबोन पनि चुपचाप बस्यो। 

यसरी घट्दो बजारमा खुलेआम इन्साइडर ट्रेडिङ हुँदा सोझा र साना लगानीकर्ता फस्ने सम्भावना प्रबल हुन्छ। नियामकले बेलैमा यस्ता गतिविधि गर्नेलाई कारबाही गर्न चुक्दा त्यस्ता लगानीकर्ताको सम्पत्ति जोखिममा पर्दै आएको छ। 

सेबोनका एक उच्च अधिकारीले अपर तामाकोशीको सेयर इन्साइडर ट्रेडिङ भएको विषयमा जानकारी नआएको बताए। ‘कसैले यसबारे प्रमाणसहित उजुरी दिन्छ भने हामी कारबाही प्रक्रिया अगाडि बढाउन तयार छौँ’, ती अधिकारीले भने।

ती अधिकारीले लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयरमा भएको इन्साइडर ट्रेडिङको विषयमा भने बोर्ड बैठक फेरि कुरा चलेको बताए। ‘एकपटक हामीले स्पष्टीकरण सोधेका थियौँ तर कम्पनीले सूचना नचुहाएको जबाफ दियो’, उनले भने, ‘तर, एकाएक कम्पनीले सेयरमूल्य ३०–४० प्रतिशत बढ्नु र बजारमा हल्लाको चलेको २ सातापछि हकप्रदको निर्णय हुनुलाई अस्वाभाविक मान्न सकिन्न। त्यसैले फेरि यस विषयमा बोर्ड बैठकमा कुरा भएको थियो।’

इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आफूहरुले हदैसम्मको प्रयास गरिरहेको ती अधिकारीले दाबी गरे। ‘अपर तामाकोशीको विषयमा पनि हामी कम्पनीसँग सोधपुछ गर्छौं’, उनले भने।