काठमाण्डौ । हकप्रद जारी गर्ने विषयलाई लिएर अपर तामाकोशी जलविद्युत कम्पनीविरुद्ध शुक्रबार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी परेको छ। 

उजुरी दिनेमा ध्रुवप्रसाद दाहाल रहेका छ्न। उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीमा पनि अपर तामाकोशीविरुद्ध उजुरी दर्ता गराएका छन्। 

उजुरीमा असार ३० नेपालका सम्पूर्ण मिडियामा अपर तामाकोशीको १०० प्रतिशत हकप्रद आउने भनी समाचार प्रकाशित भएको र उक्त समाचारमा राखिएको पत्रमा सेबोन, सीडीएससी र नेप्सेको छापसमेत रहेकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ। ‘हकप्रद जारी गर्ने प्रक्रिया के हो? मेरो बुझाइमा वार्षिक साधारणसभा बस्नुभन्दा केही दिन पहिले सञ्चालक समितिको बैठक बसेर वार्षिक साधारणसभाको बैठकमा गरिने छलफलका विषय टुंगो लगाई पत्रपत्रिकामा उक्त विवरण सार्वजनिक गर्नु पर्ने हो’, उजुरीमा भनिएको छ, ‘तर, यहाँ वार्षिक साधारणसभा हुने कुनै सुरसारसमेत नहुँदा पनि सञ्चालक समितिको बैठक बसेर आगामी वार्षिक साधारणसभामा प्रस्तुत गर्ने भनी निर्णय गर्नु खुलमखुला बेइमानी र धोका हो । यसउपर छानबिन गरी बेइमान गर्नेमाथि कानुनअनुरुप कारबाही होस् र असार ३० र ३१ गतेको उक्त कम्पनीको सम्पूर्ण कारोबार रद्द होस भनी माग गर्दछु।’

उजुरीमा हकप्रद जारी गर्ने निर्णय प्रक्रिया नमिलेको दाबी गरिएको छ। ‘चौथो त्रैमासिक सकिनुभन्दा २ दिन अगाडिमात्र हकप्रद जारी गर्ने निर्णय किन गर्नुपर्यो ?’, उजुरीमा प्रश्न गरिएको छ।   

यसैगरी असार ३० गते दिउँसो सञ्चालक समितिको बैठक बस्दा पनि दोस्रो बजारका लागानीकर्तालाई बेलुका मात्र थाहा दिइएको र सम्पूर्ण मिडियामा बेलुका मात्र समाचार प्रकाशित गरिएकोप्रति उजुरीमा आशंका व्यक्त गरिएको छ। ‘यदि सञ्चालक समितिको बैठक बेलुकामात्र बसेको हो भने सेबोन, सीडीएससीको कम्पनी छाप पत्रमा कसरी आयो ?’, उजुरीमा प्रश्न गरिएको छ।

‘सेबोन र सीडीएसीलाई जानकारी गराउनुपूर्व कम्पनीको वेबसाइटमा प्रकाशित गर्नुपर्ने हो होइन ? किन नेप्सेको वेबसाइटमा प्रकाशित गरिएन ?’, उजुरीमा भनिएको छ, ‘सम्पूर्ण मिडियामा यससम्बन्धी समाचार आएपछि नेप्सेको वेबसाइटमा असार ३० गते बेलुकाको समय राखेर सूचना किन राखियो ?’

ब्रोकर नं. ५८ र ४५ बाट लागातार ७ दिनभन्दा बढी समया सेयर खरिद भएपछि मात्र हकप्रदसम्बन्धी समाचार बाहिर प्रकाशित भएको उजुरीमा दाबी गरिएको छ। ‘समाचार आउने दिन कम्पनीको बजारमूल्य लगभग ७ प्रतिशत बढेको छ’, उजुरीमा उल्लेख छ। 

सञ्चालक समितिको बैठकको समयसमेत नखुलाइएको उजुरीमा स्पष्ट पारिएको छ।