– अर्जुन तिमिल्सिना
काठमाण्डौ । काठमाण्डौमा आज दिउँसो केहीबेर झरी परेको थियो। झरीको पर्वाह नगरी सयौँ लगानीकर्ता छाता ओढेरै भए पनि हकप्रद सेयर भर्न काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलमा लामबद्ध बसेका देखिन्थे। उनीहरु हकप्रदको फाराम भर्न तँछाडमछाड गर्दै थिए।
अपर तामाकोशी जलविद्युत कम्पनीले गत भदौ १८ गते चुक्तापुँजीको १ः१ अर्थात् १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। यो हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ।
हकप्रद सेयर भर्ने अन्तिम म्याद नजिकिँदै गर्दा सनराइज क्यापिटलमा लगानीकतार्को भीडभाड नै लागेको थियो। यही भीडमा भेटिएकी एक लगानीकर्ताले हातमा फाराम देखाउँदै आफू हकप्रद भर्न दोलखादेखि आएको बताइन्। ‘एकजना साथीले अपर तामाकोशीको हकप्रद खुला भइरहेको छ भन्ने सूचना दिएपछि म काठमाण्डौमा आएकी हुँ’, ती लगानीकर्ताले भनिन्, ‘यसकै लागि २ दिनदेखि काठमाण्डौमा बसेकी छु। आज पनि भर्न भ्याइने हो वा होइन, ठेगान छैन। तर, हकप्रद भरेरै घर फर्किने हो।’
त्यहीँ भेट भएका एक सरकारी विद्यालयका शिक्षक पनि आफू दोलखादेखि अपर तामाकोशीको हकप्रद भर्न काठमाण्डौ आएको बताए। ‘मलाई अपर तामाकोशीले हकप्रद जारी गरेको छ भन्ने थाहै भएन’, उनले भने, ‘हिजोमात्रै एउटा अनलाइन मिडियाबाट यसबारे पढ्न पाएँ। म्याद त सकिन पो लागेको रहेछ। त्यही भएर विद्यालयमा बिदै लिएर काठमाण्डौ आएँ। भोलि बिदा छ, त्यसैले आजै भरेर भोलि दोलखा फर्किने योजनामा छु।’
सनराइज क्यापिटलका सीईओ विजयलाल श्रेष्ठले लगानीकर्ताको चाप बढ्दै गएकाले यो हकप्रद भर्ने म्याद १५ दिन थपिन सक्ने बताए। ‘लगानीकर्ताको चाप बढेको छ। म्याद थप्ने सोच बनाएका छौँ’, उनले भने, ‘अहिले मेरो सेयरबाटै हकप्रद भर्न सकिन्छ तर अभौतिकीकरण (डिम्याट) नगरेका लगानीकर्ताहरु हकप्रद भर्न यहाँ लाइनमा बसेका हुन्।’
श्रेष्ठका अनुसार सेयर अभौतिकीकरण नगरेका करिब १ लाख ७० हजार दोलाखावासी र ५५ हजार कर्मचारी सञ्चय कोष र अपर तामाकोशीका कर्मचारी छन्।
8 minutes ago
10 minutes ago
16 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago