काठमाण्डौ । अपी पावर कम्पनीले तेस्रोपटक यही चैत २५ गतेबाट आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्दैछ।

यही हकप्रद सेयरका विषयमा जानकारी दिन आज कम्पनीले थापाथलीस्थित आफ्नो केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना सम्पूर्ण सेयरधनीहरुलाई हकप्रदमा आवेदन दिन आग्रह पनि गरेको छ। 

कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९३६३२९२६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। 

कम्पनीले हकप्रद निष्कासनका लागि यही चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। 

पत्रकार सम्मेलनमा अपी पावर कम्पनीका संयोजक गुरुप्रसाद न्यौपानेले १६० करोड रुपैयाँमा निर्मित अपी पावर कम्पनीले वार्षिक २४ करोड रुपैयाँ आय आर्जन गर्दै आएको दाबी गरेका छन्। ‘अपी पावरले जलविद्युत आयोजनाका साथै सोलर आयोजना र कृषि व्यवसाय पनि सञ्चालन गर्दै आएको छ’, उनले भने, ‘कम्पनीले जलविद्युत तथा सोलर योजनाका लागि खरिद गरेको जमिनहरुमा बाख्रा पालन, तरकारी खेती कफी उत्पादनजस्ता कृषिजन्य कार्यहरु गर्दै आएको छ।’

हकप्रदपछि वित्तीय हिसाबले कम्पनी बलियो हुनुका साथै लगानीकर्ता कम्पनीको निरन्तर स्थायी लाभांशबाट लाभान्वित हुने न्यौपानेको दाबी छ। ‘पुँजीगत हिसाबले अपी पावर कम्पनी राम्रो भए पनि अन्य हाइड्रोपावर कम्पनीहरुको तुलनामा अपि पावर कम्पनीको सेयर मूल्य कम छ’, उनले भने।