काठमाण्डौ । अपी पावर कम्पनीले निष्कासन गरेको २९.३८ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार अपी पावरको हकप्रदमा असार १३ गतेसम्म आवेदन दिन सकिने गरी समय थप गरिएको हो। यसअघि यो हकप्रदमा आज असार ९ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो। 

गत जेठ २० गतेदेखि कम्पनीले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १ः०.२९३८ को अनुपातमा हकप्रद निष्कासन गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरधनीका लागि निष्कासन गरिएको छ। 

कम्पनीले यो हकप्रद दोस्रोपटक निष्कासन गरेको हो। यसअघि कम्पनीले १ः०.४७ को अनुपातमा गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म हकप्रद निष्कासन गरी बिक्री गरिसकेको छ। 

दोस्रोपटक बिक्री खुला गरिएको यो हकप्रदलाई धितोपत्र बोर्डले गत वैशाख २९ गते निष्कासन अनुमति दिएको थियो। 

लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको काठमाण्डौको हात्तीसारस्थित कार्यालय, अपी पावरको काठमाण्डौको थापाथलीस्थित कार्यालय, मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। 

यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिनेछ। त्यस्तै सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। 

अपी पावरले हकप्रद निष्कासन प्रयोजनार्थ गत वैशाख २९ गते बुक क्लोज गरेको छ। यसको अर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन योग्य भएका छन्।

यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ।