काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई ५६ करोड ७० लाख रुपैयाँबराबरको हकप्रद आउँदो जेठ २० गतेबाट निष्कासन गर्ने भएको छ।

कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्ने भएको हो। कम्पनी १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ।

कम्पनीको यो दोस्रो चरणको हकप्रदलाई नेपाल धितोपत्र बोर्ड गत वैशाख १९ गते अनुमति दिएको थियो। यसअघि कम्पनी पहिलो चरणमा यही अनुपातमा हकप्रद निष्कासन गरिसकेको छ। 

कम्पनीले यो हकप्रद बिक्रीबाट ४० मेगावाट क्षमता माथिल्ला चमेलिया जलविद्युत आयोजना निर्माणका लागि पुँजी जुटाउन लागेको हो। यो आयोजनाबाट वार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। 

यो हकप्रद प्रयोजनार्थ कम्पनीले गत वैशाख २९ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन योग्य भएका छन्।

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

हकप्रदमा आवेदन दिने अन्तिम मिति असार ९ गतेसम्म तोकिएको छ।