काठमाण्डौ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ५० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। 

दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको माथिल्ला तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको यो कम्पनीले गत वर्ष पनि यही अवधिमा ४ करोड ४४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। राष्ट्रिय गौरवको यो आयोजनाको निर्माण विभिन्न कारणले गर्दा लम्बिएकै कारण विद्युत बिक्रीबाट आम्दानी गर्न नसक्दा घाटा व्यहोर्नुपरेको कम्पनीले जनाएको छ। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन घाटा पनि ३ करोड ५० लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो घाटा ४ करोड ६ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको रिटेन्ड अर्निङ पनि ८२ करोड ५६ लाख रुपैयाँले ऋणात्मक छ। गत वर्षको पनि रिटेन्ड अर्निङ ६८ करोड ३० लाख रुपैयाँले ऋणात्मक थियो। 

चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ०.३३ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९२.२० रुपैयाा रहेको छ। 

कम्पनीले यो आयोजनाबाट आउँदो जेठ दोस्रो साताबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।