नयाँदिल्ली । अप्रिल महिनामा मात्र कच्चा तेलको मूल्यमा २० प्रतिशतको उछाल आएको छ । 

७ वर्षको दौरान कच्चा तेलको मूल्यमा एकै महिनामा यत्तिको बढोत्तरी भएको यो नै पहिलो घटना हो । शुक्रबार ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल ४८.१४ डलर पुगेको छ । डब्लूटीआई क्रूडको मूल्य प्रति ब्यारेल ४५.९६ डलर पुगेको छ । 

अप्रिल महिनामा मात्रै ब्रेन्ट क्रूड २१.५ प्रतिशतले उकालो लागेको छ । यसभन्दाअघि सन् २००९ को मे महिनामा ब्रेन्ट क्रूड(कच्चा तेल)को मूल्य यो भन्दा बढीले वृद्धि भएको थियो । 

अप्रिलमै कच्चा तेलको मूल्य सन् २०१६ को उच्चतम स्तरमा पुगी ४८.५० डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ । उता, डब्लूटिओ क्रूड चाहि अप्रिल महिनामा २० प्रतिशतले उकालो लागेको छ । यही महिना यो वर्षकै उच्च स्तर ४६.७८ डलरमा डब्लूटीओ क्रूड कारोबार भएको थियो । 

डलरको कमजोरीको साथ तेलको आपूर्तिमा कमी आउने संकेतका कारण कच्चा तेलको मूल्यमा वृद्धि भएको विश्लेषकहरुले बताएका छन् । तर बजार विश्लेषकहरुले सट्टेबाजीका कारण तेलमा बढेको मूल्य कृत्रिम हुनसक्ने आशंका समेत गरिरहेका छन् ।