– सरस्वती कटुवाल

काठमाण्डौ । ‘एउटा नागरिकको सपना पूरा हुन देशको राजनीतिक, आर्थिक नीति, शैक्षिक स्तर सोसरह महिला–पुरुषबीचमा हुने समानताको उत्तिकै खाँचो छ। पुरुषमात्र सफल र सक्रिय भएर पनि देशको उत्थान सम्भव हुन्न। हरेक क्षेत्रमा महिलाहरुको भूमिका र नेतृत्वदायी सहभागिता उत्तिकै आवश्यक छ।’ 

यसो भन्दै गर्दा नेकपा एमाले बागमती प्रदेशकी समानुपातिक सांसद अप्सरा चापागाईंको मुहारमा आशा र महिला भरोसाको तस्बिर झल्किन्छ। नेपाली महिला र आर्थिक आत्मनिर्भरताका विषयलाई जोडेर आफ्नो राजनीतिक र सामाजिक यात्राका विषयमा सभासद चापागाईंले बिजशालासँग आफ्ना अनुभव र अनुभूतिहरु सेयर गरेकी छिन्। 

विक्रम सम्वत् २०४६ सालमा एलएलसी पास गरेकी चापागाईं काभ्रे जिल्लाको एउटा गाउँमा सामान्य परिवारमा हुर्किन्। आमाबुवाका सातौँमध्ये उनी दोस्रो सन्तान हुन्। पञ्चायती सरकारविरुद्धमा सडकमा बल्ल जनता ओर्लिन थालेको बेलामा जन्मिएकी चापागाईंले हरेक सामाजिक परिबन्धले बाँधिएका नारीहरुका सकसपूर्ण जीवन नजिकबाट पढेकी छिन्। आफू पनि संघर्षबाट नै माथि आइन्। आँटिली, निडर भएकै कारण पारिवारिक र सामाजिक घेराभन्दा बाहिर उभिएर आफ्नो लक्ष्य भेटाएको उनी बताउँछिन्। 

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–४, टौखाल डिहिगाउँमा जन्मिएकी चापागाईं विवाहपछि ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–४ इमाडोलकी स्थायी बासिन्दा भइन्। लामो समय सामुदायिक वन उपभोक्ता महासंघमा काम गरेको उनी महासंघको संस्थापक कोषाध्यक्ष हुन्। सामुदायिक वन उपभोक्ता महासंघको कार्यभारले उनलाई सामाजिक, राजनीतिक क्षेत्रमा उभिन अझै बलियो बनायो। 

अहिले पनि चापागाईं सो महासंघको केन्द्रीय सल्लाहकार हुन्। यो अवधिमा उनले विभिन्न जिल्लाका गाउँहरुमा गएर त्यहाँका महिलाहरुका बारेमा धेरै बुझ्ने मौका पाइन्। 

१३ वर्षको उमेरदेखि नै राजनीतिक चेतनाको अनुभूत गरेकी चापागाईं सानैदेखि सामाजिक कार्यमा सरिक भइन्। विपन्न परिवारका धेरै समस्या समाधान गर्ने पाए हुन्थ्यो भन्ने गहिरो सोंच भएकी उनी आफूले बुझेदेखि नै सामाजिक कार्यमा निरन्तर लागिरहेकी छिन्।

विक्रम सम्वत २०५२ सालमा सामुदायिक वन उपभोक्ता समूहको संस्थापक कोषाध्यक्ष हुँदा नेपालमा पहिलोपटक सामुदायिक वन उपभोक्ता समूहमार्फत ५० प्रतिशत महिलाहरु सहभागी गराउनुपर्छ भनेर विधान बनाउने उनी पहिलो महिला पनि हुन्। त्यसबेलामा ५० प्रतिशत महिला सहभागी गराउन उनी सफल पनि भइन्। यसरी काम गर्दा कानुनमा स्थापित गरियो भने महिला दिदीबहिनीहरु मैदानमा आउँछन् भन्ने उनलाई लागेको थियो। बिडम्वना अधिकांश महिलाहरुको सहभागिता सरकारीलगायत पार्टीगत संगठनमा उल्लेख्य नहुँदा भने अहिले उनी निराश छिन्। 

जनसंख्याका आधारमा महिलाहरुलाई सहभागी गराउनसक्दा समतामूलक समाजको परिकल्पना आफ्नै आँखा अगाडि देख्न पाइन्थ्यो भन्ने उनलाई लाग्छ।  

आफू महिला भएकै कारण नेपालमा महिला आत्मनिर्भर हुनसके र हरेक क्षेत्रमा निर्णायक भूमिकामा सक्रिय भएदेखि नेपालमा खास परिवर्तन आउने थियो भन्ने चापागाई ठान्छिन्। जायज कुरा बोल्न धक नमान्ने चापागाईं ७७ जिल्ला घुमेकी छिन्। आफ्नो देशबाहेक ३० राष्ट्रहरु घुमिसकेकी छिन्। अन्य देशका महिलाहरुको अवस्था नेपालको भन्दा अलिक फरक र उत्कृष्ट रहेको उनी बताउँछिन्। 

विगतको तुलनामा नेपाली महिलाहरुले खुम्चिएर बस्नुपर्ने अवस्थामा परिवर्तन भइरहेको उनको धारणा छ। भन्छिन्–‘उसो त नेपालमा पनि महिलाहरु अगाडि बढेका छन्। पहिला कलेज जाने युवतीहरु औँलामा गन्न सकिने हुन्थे। अहिले यो अवस्था छैन। उदाहरणका रुपमा भन्नुपर्दा अहिले धेरै कुराहरु भइसकेका छन्। जस्तो कपिलवस्तुको एक कलेजलाई ‘बुहारी कलेज’को नामले चिनिन्छ। उक्त कलेजमा ६ सय बुहारीहरु विवाहपछि पनि अध्ययन गर्न जान्छन्। भनेपछि योभन्दा ठूलो परिवर्तन के हुनसक्छ ? तर, यसो भनिरहँदा अझै पनि विभिन्न क्षेत्रमा सोंचेजस्तो परिवर्तन देख्न बाँकी छ।’ 

चापागाईंका अनुसार नेपाल वर्गको हिसाबले फरक छ। धनी र गरिबको हिसाबले फरक छ। जातित्वको हिसाबले फरक छ। पहँुच पुग्ने र नपुग्ने कुराको हिसाबले फरक छ। सबैभन्दा ठूलो त हुने र नहुनेकोबीचमा धेरै ठूलो खाडल छ। त्यसमा महिलाहरुको अवस्था यी सबै कुरालाई जोडेर हेर्दा अझै फरक र निराशजनक छ। यसका लागि महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुन् जरुरी भएको उनी ठान्छिन्। भन्छिन्–‘महिलाको हातमा पैसा आउने काम तथा योजना आउनुपर्छ। उद्यमहरु के हुन सक्छन् यो विषयमा सीपलक्षित तथा आय आर्जनका विषयमा केन्द्रित हुनुपर्छ। औपचारिक र अनौपचारिक शिक्षामा महिलाहरुलाई निकैै अगाडि तानिनुपर्छ।’ 

चापागाईंले वुमन लिडरसिपका बारेमा पनि आफ्नो धारणा व्यक्त गरिन्। कुनै पनि काम वा सहभागितामा महिलाहरु आफ्नो विषयमा पोख्त हुनुपर्नेमा उनको जोड छ। उनी भन्छिन्–‘फाइदा र जोखिमको पनि कार्यभार सम्हाल्नसक्ने हुनुपर्छ। अहिले महिलाहरुको सहभागिता बढेको छ। एक दशक अगाडिको अवस्थाको तुलनामा धेरै परिवर्तनहरु भएका छन्। तर जोखिम मोलेर काम गर्न अझै पनि महिलाहरु तयार भइसकेका छैनन्। यसको मुख्य कारण भनेको हाम्रो सामाजिक परिबन्ध नै हो। कतिपय अवस्थामा महिलाहरु समेटिनेबित्तिकै पुरुषहरुले हसिमजाकको हिसाबले पनि उडाएको देखिन्छ। यसकारण गर्नसक्छु भनेर महिलाहरु निडर भएर नेतृत्वदायी भूमिकामा आउन सक्नुपर्छ। अनि परिवर्तन आफैँ सुरु हुन्छ।’ 

कार्यक्षेत्रमा जिम्मेवारी सुम्पने कुरामा अझै पनि यो महिला हो भन्ने भाव र उनीहरुको कार्यलाई प्रयोग गरिने भाष्य र हेय उस्तै छन्। यो अवस्थालाई डटेर सामना गर्ने दम्भ महिलाहरुले राख्नुपर्नेमा उनको जोड छ। 

‘जीवनको मुख्य उद्देश्य बोकेका र चुनौतीलाई सामान गर्छु भन्ने आँट भएका महिलाहरुलाई अब काम गर्न अप्ठेरो छैन। यसका बाबजुद पारिवारिक, समाजिक सदभाव, सोचाइँ खुल्ला र सहज भइदिने हो भने अहिलेको परिवर्तनमा प्रकाश थपिन्छ’, चापागाई भन्छिन्,‘अरुको अधिनमा काम गर्न सकिन्छ तर त्यो अधिनतामा देखिने विभेदकारी सोंच र व्यवहारमा महिलाहरुलाई चित्तदुखाइ छ। यो कुरामा खास परिवर्तन आउनुपर्छ। तब सोंचको जस्तै परिवर्तन आउँछ। आफूलाई प्रमाणित गर्न तयार आत्मनिर्भर महिलाहरु अहिलेको अवस्थामा निकै दक्ष र क्षमतावान छन्।’

राजनीतिलाई जीवनभर निरन्तरता दिने अठोट गरेकी चापागार्ईको आगामी दिनमा हुने प्रत्यक्ष निवार्चनमा उम्मेदवारी दिने सोच छ। उनी गत माघमा बागमती प्रदेशसभाको उपसभामुखमा निवाचित भइन्। 

काम गर्न योग्य छु र सक्छु भन्ने मानसिकता विकास गरेर मात्र आफू चाहिँ टेस्ट भएर आउनुपर्छ भन्ने धारणा राख्ने चापागार्र्ई काम गरेर नै यो अवस्थामा आफू आइपुगेकोमा गर्व महसुस गर्छिन्। सामुदायिक वन उपभोक्ता समूहमा पनि उनले चुनाव लडेर अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्। 

अन्त्यमा उनी आफू आत्मनिर्भर हुने खालका बाटो रोज्न सबै महिलाहरुलाई आग्रह गर्छिन्। सरकारी गैरसरकारी संस्थाहरु, यस्ता अन्य थुप्रै खालका फोरमहरु पनि भएकाले महिलाहरुले शिक्षाको स्तर बढाउने र आत्मनिर्भर हुने योजना बनाउनुपर्नेमा उनको जोड छ।