काठमाण्डौ । भोलि बिहीबार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासन हुँदैछ। यसअघि धितोपत्र कारोबार हुने दिन सिस्टममा भार परेको भन्दै सीडीएससीले शुक्रबारका दिनमात्र आईपीओ निष्कासन गर्न अनुमति दिइएको थियो। तर मनकामना स्मार्टको आईपीओ बिहीबार धितोपत्र कारोबार हुने दिन नै निष्कासनको अनुमति दिइएको छ। 

सीडीएससीले अब जुनसुकै दिन आईपीओ निष्कासन गर्न अनुमति दिनकै लागि ट्रायलस्वरुप मनकामना स्मार्टको आईपीओ बिहीबार निष्कासन गर्न लागिएको जनाएको छ। ‘हामीले मेरो सेयर प्रणालीमा सुधार गरेका छौँ र सिस्टम पनि अपग्रेड गरिएको ट्रायलस्वरुप भोलि बिहीबार आईपीओ निष्कासन गर्न दिइएको हो’, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने। 

त्यसो त युनियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २४ गते बिहीबार नै आईपीओ निष्कासनको मिति तोकेको छ। ‘भोलि मनकामना स्मार्टको आईपीओ सहज ढंगले मेरो सेयरबाट भर्न सक्ने हाम्रो विश्वास छ’, उनले भने, ‘त्यही भएर युनियन लाइफको बिहीबार नै आईपीओ निष्कासन गर्ने मिति तोकिएको हो।’

यदि यी दुवै आईपीओ बिहीबार सहज ढंगले मेरो सेयरमार्फत लगानीले भर्न सके भने अब जुनसुकै दिन पनि आईपीओ निष्कासनका लागि अनुमति दिइने निष्कासन गर्दा आचार्यले बताए। 

आचार्यले यसअघि जारी भएको जीवन विकास लघुवित्तको आईपीओमा मेरो सेयरबाटै ९१ प्रतिशत आवेदन परेको जानकारी दिए। ‘जीवन विकास हालसम्मै धेरै आवेदन परेको छ, सहज ढंगले लगानीकर्ताले मेरो सेयरबाट भरेका छन्’, उनले भने, ‘यो हिसाबले अब जुनसुकै दिन आईपीओ जारी गर्दा हुन सक्ने देखिएको छ।’

आचार्यले आईपीओ बाँडफाँडका लागि भने शुक्रबार नै कुर्नु नपर्ने बताए। ‘आईपीओ बाँडफाँड अब जुनसुकै बार गर्दा पनि हुन्छ’, उनले भने।