काठमाण्डौ । अब कुनै पनि कम्पनीको आईपीओ बाँडफाँड भएको एक घन्टाभित्रै अन्तिम नतिजा हेर्न सकिने भएको छ। 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले प्रणालीमा सुधार गर्दै अब कुनै पनि कम्पनीको आईपीओ बाँडफाँड भएको एक घन्टाभित्रै अन्तिम नतिजा सार्वजनिक गर्न थालिएको बताए। ‘आजको सामलिङ्ग पावर कम्पनीको आईपीओको नतिजा पनि बाँडफाँड भएको एक घन्टाभित्रै सार्वजनिक गर्न सफल भएका छौँ’, उनले भने, ‘यसअघिको मध्य भोटेकोशी जलविद्युतको आईपीओ पनि एक घन्टाभित्रै सार्वजनिक गरिएको थियो।’

अब आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकका रुपमा रहने क्यापिटलहरुले समयमै सीडीएससीलाई डाटा उपलब्ध गराएको खण्डमा एक घन्टाभित्रै लगानीकर्ताहरुले हेर्न पाउने प्रवक्ता न्यौपानेले बताए। 

पछिल्लो समय सीडीएससीले आफ्नो प्रणालीलाई स्तरोन्नति गर्दै लगेको छ। केही सयमअघि सीडीएससीले आईपीओको रिजल्ट हेर्न छुट्टै व्यवस्था गरिसकेको छ। 

प्रवक्ता न्यौपानेलेसीडीएससीको सिस्टम स्तरोन्नति गरिएपछि मेरो सेयरमा लामो समयदेखि खासै समस्या नदेखिएको दाबी पनि गरे।