काठमाण्डौ । कर नीतिमा सरकारलाई ब्याक गराउन सफल भएका सेयर लगानीकर्ताहरुले अब लगानीकर्ताहरुको एउटा महासंघ गठन गर्नुपर्ने आवाज उठाएका छन्। 

सरकारले आर्थिक विधेयकमार्फत ल्याएको कर नीतिको चर्को विरोध गर्दै सेयर लगानीकर्ताहरुले साबिकको पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशतलाई अन्तिम कर कायम गर्न सफल भएका छन्। योसँगै लगानीकर्ताहरुले अब लगानीकर्ताको एउटै महासंघ गठन गर्नुपर्ने आवाज उठाएका हुन्। 

तिलक कोइराला नेतृत्व पछिल्लो आन्दोलनमा सक्रिय भूमिका निभाएका स्वतन्त्र पुँजीबजार संघले अब एउटै महासंघ गठन गर्नुपर्नेमा सबै लगानीकर्ताको जोड रहेको बताए। ‘छुट्टाछुट्टै संघसंगठनले लगानीकर्ताको समस्या समाधान गर्न सक्दैन भन्ने आमलगानीकर्ताको निक्र्यौल छ’, उनले भने, ‘त्यसैले अब एउटै महासंघ गठन हुनुपर्ने आवाज उठेको छ।’

लगानीकर्ताको एउटै महासंघ गठन प्रक्रिया अगाडि बढाउन भोलि सोमबार दिउँसो ३ बजे माइतीघरमा लगानीकर्ताको भेला डाकिएको पनि कार्कीले बताए। ‘सोही भेलामार्फत महासंघ गठनको प्रक्रिया अगाडि बढाउनेछौँ’, उनले भने, ‘अहिलेसम्मका आन्दोलनको समीक्षा र आन्दोलन सफल भएकोमा बधाइ साटासाट पनि गर्नेछौँ।’

अब महासंघ गठनको विकल्प नरहेको पनि कार्कीले बताए। ‘एउटै संगठन हुँदा सबैको अजेन्डा पनि एउटै हुन्छ’, उनले भने। 

महासंघ गठन गरिने हो भने आमलगानीकर्ताले भोट हालेर योग्य व्यक्तिलाई लगानीकर्ताको नेताका रुपमा चुन्न पाउने पनि कार्कीको भनाइ थियो। ‘अहिले कोठामा बसेर र होटेलमा मिटिङ बसेर २–४ लगानीकर्ता बसेर संघसंगठन खोल्ने परम्परा पनि बन्द हुनेछ’, उनले भने, ‘महासंघ गठन गर्न सकियो भने सबै लगानीकर्ताको हित हुनेछ।’ 

सबै संघसंगठनका पदाधिकारीलाई महासंघ गठन प्रक्रियामा सहभागी हुन आग्रह गरिएको कार्कीले बताए। ‘सबैजना सकारात्मक हुनुहुन्छ, भोलिको भेलाबाट राम्रै पहल हुनेछ’, उनले भने।