काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाभाइरसका कारण अनलाइन माध्यमको बढ्दो प्रयोग र आवश्यकतालाई ध्यानमा राखेर एसियन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत नै बीमालेखका लागि आवेदन गर्न सकिने सुविधा ल्याएको छ।

अभिकर्ताले कम्पनीको आधिकारिक वेबसाइट www.asianlife.com.np मा एजेन्ट पोर्टलमार्फत २४ सै घन्टा आवेदन दर्ता गर्न सक्ने सुविधा ल्याइएको हो। इजाजत प्राप्त अभिकर्ताहरुले कम्पनीको आधिकारिक वेबसाइटमा एजेन्ट पोर्टलमा लगइन गरिसकेपछि बीमा चाहने व्यक्ति (प्रस्तावक) का बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्टी गरेर अनलाइन आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ। 

बीमा समितिबाट गत जेठ १४ गते जारी अनलाइन बीमालेख जारी गर्नेबारेको निर्देशानुसार हाललाई अधिकतम ३ लाख रुपैयाँ बीमांकलेखका लागि आवेदन दिन सकिने कम्पनीले स्पष्ट पारेको छ।

अनलाइन सुविधाका कारण बीमालेखको प्रस्ताव फारमलगायत कागजपत्र बोकेर अभिकर्ताहरु शाखाम कार्यालयमा नै गइरहनु नपर्ने हुँदा समयको बचतका साथसाथै अहिलेको अवस्थामा भौतिक दूरी कायम राखी कोरोना संक्रमणको जोखिम कम हुने विश्वास कम्पनीले लिएको छ।

कम्पनीले बीमितले ईसेवा र फोनपेमार्फत घरमै बसेर नवीकरण बीमाशुल्क भुक्तानी गर्न सकिने जनाएको छ। साथै अनलाइन लगइनबाट अभिकर्ताले कारोबार विवरण तथा बीमितले आफ्नो बीमालेखसम्बन्धी सम्पूर्ण विवरण आफैँले हेर्न मिल्ने सुविधा पनि रहेको कम्पनीले जनाएको छ।