काठमाण्डौ । नेपाल बैंक लिमिटेड विभिन्न शीर्षकमा दिँदै आएको कर्जाको ब्याजदर निर्धारण गरेको छ। 

बैंकले साउन १४ गतेदेखि लागू हुने गरी कर्जाको ब्याजदर घटाएको हो। बैंकको आधार दर ६.९९ रहेको छ। अब बैंकले आधार दरमा न्यून प्रिमियम दर जोडेर विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउनेछ। 

बैंकले होम लोन आधार दरमा १.५५ प्रतिशतदेखि ३.६६ प्रतिशत प्रिमियम जोडेर उपलब्ध गराउनेछ। जसमा ५ वर्षसम्मका लागि बैंकले १.५५ प्रतिशतदेखि २.१६ प्रतिशतसम्म प्रिमियम हुने बैंकले जनाएको छ। यस्तै १० वर्षसम्मका लागि २.१९ प्रतिशतदेखि २.८० प्रतिशतसम्म, १५ वर्ष र त्यसभन्दा बढीका लागि ३.०५ प्रतिशतदेखि ३.६६ प्रतिशतसम्म प्रिमियम दर तोकिएको छ। 

बैंकले व्यावसायिक होम लोन र नेपालक्ष्मी (होम लोन) मा १.५५ देखि २.१६ प्रतिशतसम्म प्रिमियम तोकेको छ। 

बैंकले अटो लोन शीर्षकअन्तर्गत विभिन्न कर्जा १.५५ प्रतिशत ४.१६ प्रतिशत प्रिमियममा उपलब्ध गराउने भएको छ। जसमा अटो लोन (नेपाल लक्ष्मी) र व्यावसायिक अटो लोन १.५५ देखि २.१६ प्रतिशतसम्म, इलेक्ट्रिक गाडीका लागि २.०१ देखि ४.१६ प्रतिशतसम्म, निजी गाडीका लागि २.५५ प्रतिशतदेखि ४.१६ प्रतिशतसम्म र व्यावसायिक प्रयोजनका लागि ३.५५ प्रतिशतदेखि ४.१६ प्रतिशतसम्म प्रिमियम दर निर्धारण गरेको छ।

यसैगरी बैंकले सुलभ आवास कर्जाअन्तर्गत ५ वर्षदेखि २० वर्षसम्मका अवधिका लागि १ प्रतिशतदेखि २ प्रतिशतसम्म प्रिमियम दर कायम गरेको छ। 

बैंकले कृषि कर्जा २ प्रतिशत प्रिमियम दरमै उपलब्ध गराउनेछ। यस्तै पिछडिएको क्षेत्रमा व्यक्ति १.५५ प्रतिशतदेखि २.१६ प्रतिशत तथा संस्थागततर्फ विभिन्न शीर्षकमा ०.१९ देखि १.८० सम्म प्रिमियम दरका कर्जा प्रवाह गर्नेछ। 

शिक्षातर्फ भने बैंकले ५ वर्षसम्मका लागि १.०५ देखि १.६६ प्रतिशत र १० वर्षसम्मका लागि २.०५ देखि ५.०२ प्रतिशत प्रिमियम दरमा कर्जा प्रवाह गर्नेछ। 

बैंकले अन्य विभिन्न शीर्षकमा प्रवाह गर्ने कर्जाको प्रिमियम दर पनि घटाएको छ।

उता निक्षेप बचतअन्तर्गत विभिन्न शीर्षकमा बैंकले ३ देखि ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ। 

मुद्दतितर्फ भने बैंकले विभिन्न शीर्षकमा ६.५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ।