काठमाण्डौ । अब मनी चेन्जर कारोबारको इजाजतपत्र प्राप्त गर्न  तथा इजाजतपत्र नवीकरण गर्न ६ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ बमोजिम यस्तो व्यवस्था गरिएको हो। विनियमावलीअनुसार अब भारतीय रुपैयाँ खरिदबिक्री कारोबार गर्नका लागि १ लाख रुपैयाँ, परिवत्र्य विदेशी मुद्रा कारोबारका लागि  ५ लाख रुपैयाँ र दुवै कारोबारका लागि ६ लाख रुपैयाँसम्म राष्ट्र बैंकमा धरौटी राख्नुपर्नेछ। 

धरौटी रकम नगद वा बैंक तथा वित्तीय संस्थाबाट जारी भएको जमानतको रूपमा समेत राख्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाबाट जारी भएको जमानतको हकमा सोको अवधि कम्तीमा ४८ महिनाको हुनुपर्नेछ। 

यो विनियमावली लागू हुनुपूर्व इजाजतपत्र प्राप्त गरिसकेका मनी चेन्जरहरूको हकमा बैंक तथा वित्तीय संस्थाबाट जारी भएको जमानत ती मनी चेन्जरहरूले इजाजतपत्र नवीकरण गर्दा पेस गर्नुपर्नेछ। 

यसैगरी नगद धरौटीसम्बन्धीमा भारतीय रुपैयाँ खरिदबिक्री कारोबारका लागि ५० हजार रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको कारोबारका लागि ७५ हजार रुपैयाँ र दुवै कारोबारका लागि १ लाख रूपैयाँ नगद धरौटी राख्नुपर्ने हुन्छ।

मनी चेन्जर कारोबार गर्ने इजाजतपत्र रद्द भएपश्चात वा मनी चेन्जर कारोबार बन्द गर्ने निवेदन प्राप्त भएपश्चात फिर्ता माग गरेमा मनी चेन्जरको कारोबार बन्द गर्न राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाबापतको रकम कट्टा गरी बाँकी रकममात्र फिर्ता गरिने विनियमावलीमा उल्लेख छ। 

मनी चेन्जर कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न भारतीय रुपैयाँ खरिदबिक्री कारोबारका लागि १० लाख रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको कारोबारका लागि १५ लाख रुपैयाँ र दुवै कारोबारका लागि २० लाख रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ।

यस्तै भारतीय रुपैयाँ खरिदबिक्री कारोबारका लागि २५ हजार रुपैयाँ, परिवत्र्य विदेशी मुद्राको कारोबारका लागि १ लाख रुपैयाँ र दुवै कारोबारका लागि १ लाख २५ हजार रुपैयाँ नेपाल राष्ट्र बैंकमा इजाजत शुल्क बुझाउनुपर्ने छ। 

मनी चेन्जरको कारोबार गर्न इजाजतपत्र लिनका लागि कारोबार गर्ने क्षेत्र किटान गरी निवेदन दिनुपर्ने छ। निवेदकले कारोबार गर्ने क्षेत्र काठमाण्डौ उपत्यकाभित्र भएमा विभागमा र काठमाण्डौ छ उपत्यका बाहिर भएमा राष्ट्र बैंकको सम्बन्धित प्रदेशस्थित कार्यालयमा निवेदन दिनुपर्नेछ। राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय पायक नपर्ने भएमा विभागमा निवेदन दिन सकिनेछ।