काठमाण्डौ । नेपाल–चीन संयुक्त लगानीको एक निजी एअरलाइन्स हिमालय एअरलाइन्सले हालै आफ्नो अनलाइन टिकट बुकिङ इन्जिन सुरु गरेको छ। जसबाट ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सको वेबसाइट जततउकस्ररजष्m(बष्च।अयm बाट बुकिङ गर्न  सक्नेछन्। यसले यात्रुलाई विभिन्न गन्तव्यसँग जोडिन सहज हुनेछ। 

अहिले यो सेवा आफ्नो प्रारम्भिक चरणमा भएकोले कनेक्ट आईपीएस प्रयोग गर्ने ग्राहकले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाणपत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्नेछन्। एअरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्वबुकिङ, सिट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आगामी चरणहरूमार्फत नवीनतम सेवा सुरु गर्ने योजना बनाएको छ। 

नयाँ वेबसाइट सुरुआतका बारेमा टिप्पणी गर्दै अध्यक्ष जोउ इन्योङ्ले भने, ‘हाम्रा ग्राहक हामीले गर्ने सबै कामका केन्द्र हुन् र हामी उहाँहरूलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ। त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधाजनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरी हाम्रो नयाँ बि–टु–सी वेबसाइटको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । यो वेबसाइट हिमालयको निरन्तर अविष्कारको संस्कृति र हाम्रो उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्घताको परिणाम हो । वास्तवमा हामी यस प्लेटफर्मलाई तयार गर्न लकडाउनको  अवधि प्रयोग गरिरहेका थियौँ र अहिलेको कोभिड–१९ महामारीलाई मध्येनजर गर्दै हामी हाम्रा यात्रुहरूको  भौतिक सम्पर्करहित बुकिङ र यात्रा सुविधाको आवश्यकताबारे राम्ररी बुझ्दछौँ ।’

त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यो कम्पनीको लागि महत्वपूर्ण उपलब्धि हो । हिमालय सधैँ आफ्नो ग्राहकसँग नजिकको सम्बन्ध कायम राख्न समर्पित छ र सुविधाजनक टिकट ब्राउज र बुकिङ अनुभवका निम्ति यो प्लेटफर्म हाम्रो कम्पनीको लागि कोसेढुंगा साबित हुनेछ।’

यो नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकका लागि सहज र निर्वाध टिकट बुकिङ अनुभव सुनिश्चित गर्न तयारी गर्दैछ।