काठमाण्डौ । यतिबेला विश्वभरका देश अनियन्त्रित महँगीले आक्रान्त छन्। नेपाल, छिमेकी मुलुक भारत, अमेरिका, बेलायतलगायतका देशमा महँगी ह्वात्तै बढेको छ। 

मुद्रास्फीतिलाई नियन्त्रण गर्न केही देशका केन्द्रीय बैंकले ब्याजदर बढाइरहेका छन्। लन्डनस्थित एक कम्पनीले आफ्ना कर्मचारीमा महँगीको प्रभावलाई कम गर्न अनौठो तयारी अपनाउने भएको छ। कम्पनीले अब आफ्ना कर्मचारीलाई नगदको सट्टा सुनमा तलब भुक्तानी गर्ने भएको छ। 

स्थानीय सञ्चार माध्यमका अनुसार वित्तीय सेवा प्रदायक कम्पनी ट्यालीमनीले अब आफ्ना कर्मचारीलाई तलबको सट्टामा सुन दिनेछ। कम्पनीका सीईओ क्यामरुन पेरीले सुन मुद्रास्फीति नियन्त्रण गर्न प्रभावकारी साबित हुने दाबी गरे। ‘सोही कारण कम्पनीले आफ्ना कर्मचारीलाई तलबमा सुन दिने निर्णय गरेको हो’, सीईओ पेरीले भने, ‘वर्तमान समयमा परम्परागत मुद्राले निरन्तर आफ्नो क्रयशक्ति गुमाउँदै गएको छ। यस्तो अवस्थामा सुनले मानिसलाई महँगीसँग लड्न मद्दत गर्नेछ।’

पेरीले पाउन्ड स्ट्रेलिङले जुन हिसाबले क्रयशक्ति गुमाइरहेको छ, त्यो चिन्ताजनक विषय बनेको बताए। ‘अर्कोतर्फ यो वर्ष सुनको भाउ निरन्तर बढेको छ’, उनले भने, ‘महँगी दैनिक जीवनयापन झनै खराब बन्दै गएको छ। यस्तो अवस्थामा पाउन्डमा भुक्तानी गर्नुको कुनै अर्थ छैन, विशेषगरी जब यसको मूल्य प्रत्येक दिन गिर्दै गएको छ।’

अहिले टेलिमोनीमा २० जनाभन्दा बढी काम गरिरहेका छन्। कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीलाई सुनमा तलब दिन थालेको छ। कम्पनीले अब सबै कर्मचारीका लागि एउटै भुक्तानी प्रणाली लागू गर्न लागेको छ। 

सीईओ पेरी आफैँले पनि सुनमा तलब भुक्तानी लिइरहेका छन्। ‘यद्यपि कम्पनीले कर्मचारीलाई पाउन्डमा तलब लिने विकल्प छनोट गर्ने अवसर पनि दिएको छ’, सीईओ पेरीले भने। 

महँगीले बेलायतको दैनिक जीवनयापन लागत बढ्दो छ। पाउन्डको मूल्य हाल २ वर्षयताकै न्यून विन्दुमा छ। 

बैंक अफ इङ्ल्यान्डले सन् २०२२ अर्थतन्त्रका लागि मन्दीको वर्ष हुन सक्ने चेतावनी पनि दिइसकेको छ। –एजेन्सी