काठमाण्डौ । नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम सोझै बैंक खातामा पठाइने भएको छ। 

राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी वा हकवालाहरुलाई निवृत्तिभरणबापतको रकम आईपीएसमार्फत सोझै निजको बैंक खातामा पठाउने जानकारी गराएको हो। यसका लागि निवृत्त कर्मचारी वा हकवालाहरुले पेन्सन तथा अन्य रकम विद्युतीय माध्यमबाट भुक्तानी लिनका लागि फराम भर्नुपर्नेछ। 

उक्त फाराम भरी अनिवार्य रुपमा पेन्सनपट्टाको प्रतिलिपि र सम्भव भएसम्म निजको बैंक खाताको चेकको प्रतिलिपि तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ।

यी काजपत्रसहितको विवरण निवृत्त कर्मचारीले राष्ट्र बैंकको बैंकिङ विभाग वा प्रदेशस्थित कार्यालय वा ई–मेल ठेगाना pension@nrb.org.np वा fmd@nrb.org.np मा बुझाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।