काठमाण्डौ । विश्वचर्चित इकमर्स कम्पनी अमेजनले नयाँ बायोमेट्रिक पेमेन्ट सिस्टम लञ्च गरी विश्वलाई चकित बनाइदिएको छ । 

कम्पनीले नयाँ बायोमेट्रिक पेमेन्ट सिस्टम ‘अमेजन वान’ लञ्च गरेको हो । यो बायोमेट्रिक पेमेन्ट सिस्टमको मुख्य विशेषता यो हो कि तपाईले केवल आफ्नो हात देखाएर जस्तोसुकै र जतिसुकै पेमेन्ट पनि गर्न सक्नुहुन्छ । यसबाट निकै सहज ढंगले कन्ट्याक्टलेस पेमेन्ट गर्न सम्भव हुन्छ । 

अमेजन भारतका उपाध्यक्ष दिलीप कुमारलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार अब तपाईलाई सपिङ गर्ने समयमा कुनै पनि कार्डको जरुरत पर्ने छैन । तपाईले केवल आफ्नो हात स्क्यान गरेर सपिङ गर्न सक्नुहुन्छ । अमेजनले यो सिस्टम अमेरिका लगायतका देशमा लागू गरिने जनाएको छ ।

भारतमा ट्रायल मात्र गरिरहेको र आएका फिडब्याकलाई समेत विश्लेषण गरी यो सिस्टम लागू गरिनेछ । यो सिस्टम नेपालमा आउन केही समय लाग्नसक्छ । 

यसबाहेक कुनै पनि कम्पनीको गेटमा यसले गेटपासको समेत काम गर्नेछ । अमेजनको यो पेमेन्ट सिस्टमको मद्धतले अफिस वा कुनै स्टेडियममा प्रवेश गर्न समेत सहज हुने दाबी गरिएको छ । 

अमेजनभन्दा पहिला चीनमा एउटा कम्पनीले ‘स्माइल टू पे सिस्टम’ लञ्च गरिसकेको छ । यो सिस्टममा भने आइप्याडको साइजको एक डिभाइसको प्रयोग गरिएको छ, जसको माध्यमबाट प्रयोगकर्ताले आफ्नो अनुहार देखाएर पेमेन्ट गर्न सक्नेछन् । तथापि, यस्तो सिस्टमको विषयमा भने प्राइभेसीको चर्को बहस समेत भइरहेको छ । 

(एजेन्सीहरुको सहयोगमा)