काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जसअन्तर्गत सानिमा बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ। 

यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकले अब खल्ती वालेटमा बिना झन्झट सीधै बैंकको सानिमा सजिलो ई–बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन्। 

उक्त सम्झौताका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रा ग्राहकलाई सजिलो फन्ड मोबिलिटीमा जोड्न यो हाम्रा लागि अवसर हो। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुरÞ्याउनेछ भन्ने आशा लिएका छौँ।’ 

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार भन्दा बढी सेवाको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।