काठमाण्डौ । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभ दरमा डाटा सेवाको उपयोग गर्नसक्ने भएका छन् । 

देशकै अग्रणी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा  करबाहेक १० पैसा प्रति एमबिसम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डाटा प्याक’को अफर ल्याएको छ ।  

असार १५(बुधबार)देखि सुचारु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक,  साप्ताहिक तथा मासिक नाइट डाटा प्याक खरिद गरी रातको १० बजेदेखि बिहान ६ बजे सम्म अझ सुलभ दरमा डाटा सेवाको उपयोग गर्न सक्नेछन् ।

४० एमवि डेटा रहेको दैनिक नाईट डाटा प्याक ग्राहकले रु ८ मा खरिद गर्न सक्ने एनसेलले जनाएको छ । यो प्याकको समयावधि २४ घण्टा रहेको छ । साथै २५० एमबि डाटा भोल्युम भएको सात दिनसम्म मान्य हुने साप्ताहिक नाईट डाटा प्याकको मूल्य रु ४० रहेको छ भने ग्राहकले १००० एमबि डाटा भोल्युम रहेको मासिक नाईट डाटा प्याक मात्र रु १०० मा खरिद गर्न सक्छन् । अर्थात मासिक नाइट डाटा प्याक खरिद गर्दा ग्राहकले अब मात्र १० पैसा प्रति एमबिमा ईन्टरनेट चलाउन सक्छन्   । यी नाइट डाटा प्याकका मूल्यहरु करबाहेकका रहेका बताइएको छ । 

ग्राहकले यी नाईट प्याकहरु  ८१७१२३३  डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी स्पेस राखेर अंग्रजीमा ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने नाईट डाटा प्याक लिन चाहने ग्राहकले अंगे्रजीमा ४० लेखी स्पेस दिएर अंग्रजीमा एन टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् ।

‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता बमोजिम आफ्ना ग्राहकका लागि नाइट डेटा प्याक ल्याउन पाउँदा हामी हर्षित छौं । यसले रातको समयमा डेटा उपयोग गर्ने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ ।’–एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । प्याकको समयावधि रहँदै डाटा भोल्युम उपभोग भएमा ग्राहकले बाँकी अवधिको राति १० बजेदेखि बिहान ६ बजेसम्म ५०पैसा प्रति एमबिका दरले डाटा सेवा प्रयोग गर्नसक्ने छन् । यो योजना १५ दिनसम्म संचालनमा रहने बताइएको छ ।