काठमाण्डौ । अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्नसक्ने सुविधा दिइन लागेको छ। 

आउँदो असारसम्म यो सुविधा ‘मेरो सेयर’ पोर्टलमा प्रदान गरिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार यो सुविधा ल्याउनका लागि अहिले प्राविधिक गृहकार्य भइरहेको छ। ‘त्यसो त अहिले ‘मेरो सयेर’ पोर्टलकै स्तरोन्नतिको काम भइरहेको छ’, उनले भने, ‘स्तरोन्नतिको काम सकिनेबित्तिकै लगानीकर्तालाई ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा आफैँ रिसेट गर्न सक्ने सुविधा दिनेछौँ।’ 

हाल प्रयोगकर्ताले ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा सम्बन्धित डीपीमा नै पुगेर रिसेटका लागि आग्रह गर्नुपर्छ । हिजोआज दैनिकजसो डीपीहरुमा पासवर्ड बिर्सेर रिसेटका लागि आउनेको घुइँचो लाग्ने गरेको छ। 

पासवर्ड आफैँले रिसेट गर्न सक्ने सुविधा दिइएमा लगानीकर्ताहरु यसैका लागि डीपीमा पुगेर घन्टौँ लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुने सीडीएससीको भनाइ छ।