– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सिस्टमलाई अपडेट र अपग्रेड गर्दै गएको सीडीएससीले ‘मेरो सेयर’ मा अब पासवर्ड बिर्सेमा प्रयोगकर्ता आफैँले रिसेट गर्न सक्ने सुविधा थप गर्न लागेको छ। 

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले अब ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा प्रयोगकर्ता आफैँले सजिलै रिसेट गर्न सक्ने सुविधा थप्न लागिएको जानकारी गराएका हुन्। ‘मेरो सेयरमा अब बाहिरी फिचरमै फर्गेट पासवर्डको अप्सन हुनेछ’, उनले भने, ‘त्यसमा क्लिक गरेपछि प्रयोगकर्ताको ई–मेल, जन्म मिति वा अकाउन्ट भेरिफाई गरेर पासवर्ड प्रयोगकर्ताको ई–मेलमा सिस्टमले पठाउनेछ।’

हाल मेरो सेयरको पासवर्ड बिर्सेमा रिसेट गर्न प्रयोगकर्ताले सम्बन्धित डीपीमै सम्पर्क गर्नुपर्ने अवस्था छ। ‘यो सुविधा थपिएपछि मेरो सेयरको पासवर्ड रिसेट गर्न प्रयोगकर्ताले डीपीमा सम्पर्क गर्नुपर्ने छैन, डीपीलाई पनि कामको बोझ कम पर्न जानेछ।’

मेरो सेयरमा पासवर्ड प्रयोगकर्ता आफैँले रिसेट गर्ने सुविधा थप्ने काम एक महिनाभित्रै पूरा हुने सीईओ आचार्यले जानकारी दिए। ‘मेरो सेयरमा अझै धेरै काम गर्न बाँकी छ’, उनले भने, ‘हामी सुधार र स्तरवृद्धिको काम गरिरहेका छौँ।’