काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि साउन ३० गते बाँडफाँड हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आईपीओ बाँडफाँड हुने भएको छ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ। 

यो लघुवित्तको गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।। जसमा ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता सेयर कर्मचारीरुका लागि छुट्याइएको थियो। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। 

यो आईपीओमा अन्तिम दिन साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० आवेदकबाट कुल २ करोड ३१ लाख १६ हजार १९० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा २५.२९ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट भाग्यमानी ९१ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।