काठमाण्डौ । एउटा भारतीय कम्पनीलाई लिएर भएको विवादका कारण विश्वको सबैभन्दा ठूला ई–कमर्स कम्पनी अमेजन र भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स आमने–सामने भएका छन्। 

एउटा भारतीय कम्पनी फ्युचर गुप्रसँग अलग–अलग सम्झौता गरेकै कारण यतिबेला यी दुई दिग्गज कम्पनीहरुबीच टकराब सुरु भएको हो। विज्ञहरुका अनुसार अमेजनसँग रिलायन्सको यो कानुनी लडाइँले आउने वर्षहरुमा भारतमा ई–कमर्सको भविष्य निर्भर रहनेछ। 

फरेस्टर कन्सल्टेन्सीका एक वरिष्ठ फ्युचर विश्लेषक सतीश मिणाले बीबीसीसँगको कुराकानीमा भने, ‘मलाई लाग्छ कि यो एउटा ठूलो मुद्दा हो। अहिलेसम्म अमेजनलाई कुनै पनि ठूलो बजारमा यस्तो प्रकारको प्रतिद्वन्द्वीको सामना गर्नुपरेको छैन।’ 

अमेजनले आफ्नो संस्थापक मालिक जेफ बेजोसलाई विश्वको सबैभन्दा धनीव्यक्ति बनाएको छ। अमेजनले विश्वव्यापी रुपमा रिटेल व्यापारलाई परिवर्तन गरिदिएको छ। तथापि रिलायन्सका मालिक मुकेश अम्बानी पनि भारतको सबैभन्दा धनाढ्य व्यक्ति हुन् र उनको इतिहास पनि यति सजिलै हार मान्ने खालको छैन। 

ई–कमर्स उद्योगका विश्लेषकका अनुसार रिटेल सेक्टरमा अम्बानीको योजना अमेजन र वालमार्टको फ्लिपकार्टका लागि चुनौती पेस गर्ने खालको हुन सक्छ। 

अमेजन यतिबेला भारतमा आक्रामक रुपमा आफ्नो उपस्थिति बढाउनतिर लागिरहेको छ। उसलाई विश्वास छ कि उसले यो उदाउँदो ई–मार्केटका अवसरहरुबाट फाइदा लिन सक्छ। रिलायन्सको पनि ई–कमर्स तथा ग्रोसरी व्यवसायमा प्रवेश गर्ने योजनाहरु छन्। 

फ्युचर गुप्रलाई लिएर कस्तो विवाद ?

फ्युचर गुप्रले यो वर्षको सुरुआतमा रिलायन्ससँग ३.४ बिलियन अमेरिकी डलरको रिटेल सम्पत्ति बिक्री गर्ने सम्झौता गरेको छ। सन् २०१९ बाट अमेजनको फ्युचर कुपनमा ४९ प्रतिशत स्वामित्व रहेको छ। यस कारण फ्युचर रिटेलमा अमेजनको अप्रत्यक्ष स्वामित्व र नियन्त्रण छ। 

अमेजनका अनुसार यो करारअनुसार फ्युचर गुप्र केही सीमित भारतीय कम्पनीहरुसँग सम्झौता गर्न सक्दैन। यसमा रिलायन्स पनि समावेश छ।

कोरोना महामारीका कारण फ्युचर रिटेलको व्यवसायमा नराम्रो प्रभाव परेको छ। कम्पनीका अनुसार कम्पनीलाई बचाइराख्न रिलायन्ससँगको यो सम्झौता एकदमै आवश्यक थियो। 

अदालतको फैसला भने फ्युचर ग्रुपको पक्षमा गएको छ। गत सोमबार दिल्ली कोर्टले एक साता पहिलेको फैसलालाई उल्टाइदिएको छ। जसअनुसार यो सम्झौतामाथि रोक लगाइएको थियो। अमेजनले अदालतको निर्णयविरुद्ध अपिल गरेको छ। 

यदि रिलायन्सलाई यो सम्झौताको अनुमति प्राप्त हुन्छ भने रिटेल व्यापारमा उसको पहुँच भारतको ४२० वटा सहरका १८०० भन्दा धेरै स्टोरसम्म पुग्नेछ। यसका साथै फ्युचर गुप्रको थोक व्यापार तथा लजिस्टिकसम्म पनि रिलायन्सको पहुँच पुग्नेछ। 

सतीश मिणा भन्छन्, ‘ई–कमर्स व्यवसायमा खासै अनुभव नभए पनि रिलायन्ससँग पैसा र त्यो प्रभाव छ, जुन बजारका लागि आवश्यक हुने गर्दछ।’ 

यदि अमेजनले यो विवादमा सफलता हासिल गर्छ भने रिलायन्सका ई–कमर्ससँग जोडिएका योजनाहरुलाई धक्का पुग्न सक्छ। 

बीबीसीका बिजनेश संवाददाताका निखिल इनादारका अनुसार विश्वका यी दुई धनाढ्य व्यवसायीबीचको यो लडाइँले ई–कमर्सको क्षेत्रमा के–कति चिज दाउमा लागेको छ भनेर स्पष्ट पारेको छ। यो यस कुराको संकेत पनि हो कि विदेशी व्यवसायीहरुका लागि भारतमा व्यापार गर्न कति अप्ठेरो हुने गर्दछ। 

निखिल इनामदारका अनुसार ठूला विदेशी कम्पनीहरुमा अमेजन यसको ताजा उदाहरण हो। जसले भारतीय साझेदारसँग यस प्रकारको अनियमितता झेलेको छ र जसमा बाहिरी मध्यस्थताको आदेशहरुलाई पालना गरिएको छैन। यसको अलावा स्थानीय अदालतमा पनि उनीहरुलाई पूर्णसमर्थन प्राप्त भएको छैन।

भारतले हालैमात्रै दुई महत्वपूर्ण कम्पनीहरु क्यारेन इनर्जी पीएलसी र भोडाफोनविरुद्ध कर विवादमा हारको सामना गर्नुपरेको थियो। तथापि भोडाफोनको मामिलामा अदालतको आदेशलाई चुनौती दिइएको छ। 

एसिया प्यासेफिक फाउन्डेसन अफ क्यानडाका फेलो रुप सुब्रमण्या भन्छन्, ‘यसमा कुनै शंका छैन कि विदेशी लगानीकर्ता यस्ता परिस्थितिलाई नियाल्नेछन् र यसलाई निराशाजनक परिस्थितिका रुपमा लिइनेछ। लगानी र व्यापार गर्न भरोसायोग्य स्थानका रुपमा भारतको छविमाथि यसले नकारात्मक प्रभाव पार्नेछ।’

निखिल इनामदारका अनुसार अमेजनले यो लडाइँमा हार मान्नेवाला छैन। किनकि रिलायन्सलाई यसबाट अतिरिक्त लाभ प्राप्त हुनेछ। तर निश्चित रुपमा रिलायन्सजस्तो स्वदेशी कम्पनीविरुद्ध अमेजनले कानुनी लडाइँ लड्ने कुरा समानस्तरमा लड्नेजस्तो होइन। भारतको सरकारी नियमले विदेशी ई–कमर्स कम्पनीहरुलाई भारतीय उपभोक्तालाई प्रत्यक्ष रुपमा आफ्नो उत्पादन बिक्री गर्न रोक लगाएको छ। यसलाई संरक्षणवादी नीतिका रुपमा हेरिने गरिन्छ। जसमा स्थानीय रिटलर्सहरुलाई फाइदा हुने गर्दछ। 

अमेजनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर भारतको आह्वानको मूल्यसमेत चुकाउनुपरेको छ। किनकि यसबाट डेटाको प्रयोगलाई लिएर कडा मापदण्डको पालना गरिनेछ। यसबाट अमेजनजस्ता कम्पनीहरुको हित अथवा फाइदालाई असर पर्नेछ। 

भारतीय बजारमा नजर 

अमेजन र रिलायन्सको नजर भारतका असीमित सम्भावनाहरुमाथि गडेको छ। सतीश मिणा भन्छन्, ‘अमेरिका र चीनपश्चात कुनै बजारमा यस्तो प्रकारको सम्भावना रहेको छैन। भारतको रिटेल सेक्टर ८५० बिलियन डलरको छ तर अहिले यसको एकदमै सानो भागमात्रै ई–कमर्स अन्तर्गत रहेको छ।’

फरेस्टरका अनुसार भारतीय ई–कमर्स व्यवसाय प्रत्येक वर्ष २५.८ प्रतिशतका दरले वृद्धि हुनेवाला छ र सन् २०२३ सम्म ८५ बिलियन डलरसम्म पुग्नेछ। यस्तोमा निश्चित रुपमा भारतको ई–कमर्स क्षेत्रमा भीडभाड र प्रतिस्पर्धा बढ्नेछ। अमेजनका अलावा वालमार्टले पनि भारतीय घरेलु कम्पनी फ्लिपकार्टसँग साझेदारी गरेको छ। यहाँसम्म कि फेसबुक पनि यो दौडमा होमिएको छ। फेसबुकले रिलायन्स इन्डस्ट्रिजको जियो प्लेटफर्ममा ९.९ को स्वामित्व ५.७ बिलियन डलरमा खरिद गरेको छ। 

ग्रोसरी क्षेत्रमा ई–कमर्स 

रिटेल क्षेत्रमा ग्रोसरीे व्यवसायको हिस्सा सबैभन्दा धेरै रहेको छ। यो क्षेत्रमा आधा हिस्सा ग्रोसरी व्यवसायाको रहेको छ। अहिले ई–कमर्सको क्षेत्रमा सबैभन्दा धेरै व्यापार स्मार्टफोनको भइरहेको छ। तर, कोरोना महामारीले ई–कमर्सलाई ग्रोसरी व्यवसायतर्फ धकेलेको छ। किनकि भारतमा कडा लकडाउन लगाइएको थियो। –बीबीबीबाट भावानुवाद