काठमाण्डौ । ई–कमर्स क्षेत्रको दिग्गज कम्पनी अमेजनले करिब १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ। 

न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अमेजनमा अर्को साता हजारौँ मानिसले आफ्नो जागिर गुमाउन सक्छन्। पछिल्ला केही त्रैमासमा नाफा नआएकाले कम्पनीले कर्मचारी कटौतीको निर्णय गरेको हो।

अमेजनले आर्थिक मन्दी लगातार बढ्दै गएकोमा कम्पनीले आफ्नो खर्च घटाउनुपर्नेमा चिन्ता व्यक्त गरेको छ। कम्पनीले गत साता नयाँ कर्मचारी भर्ना फ्रिज गर्ने घोषणा गरेको थियो। धेरै कर्मचारीलाई अन्यत्र काम खोज्न पनि भनिएको थियो। यद्यपि, अमेजनबाट हटाउने सम्बन्धमा अहिलेसम्म आधिकारिक धारणा बाहिरिसकेको छैन। 

सन् २०२१ डिसेम्बर ३१ को तथ्यांकअनुसार अमेजनमा १६ लाखभन्दा बढी फुल टाइम र पार्ट टाइम कर्मचारी छन्। यदि कम्पनीले एकैसाथ १० हजार कर्मचारीलाई निकाल्छ भने यो अमेजनको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेछ। समग्रमा कम्पनीले आफ्ना १ प्रतिशत कर्मचारीलाई निकाल्ने तयारी गरिरहेको छ।

कम्पनीले काम गर्न धेरै युनिटमा रोबोटको प्रयोगलाई बढावा दिइरहेको छ। हाल डेलिभर हुने प्याकेटको करिब तीन चौथाइ कुनै न कुनै रोबोटिक प्रणालीबाट गुज्रिन्छ।

अमेजन रोबोटिक्सका प्रमुख टाइ ब्राडीले आगामी ५ वर्षमा प्याकेजिङमा सतप्रतिशत रोबोटिक प्रणाली हुन सक्ने बताए। उनले भविष्यमा मानव कामदारलाई रोबोटले विस्थापित गर्ने तर यसका लागि धेरै समय लाग्ने बताए। ब्राडी भन्छन्, ‘कम्पनीमा काम पक्कै परिवर्तन हुनेछ तर मानिसको आवश्यकता सधैं हुनेछ।’

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मूल कम्पनी मेटा प्लेटफर्म इंकले हालै ११ हजार कर्मचारीलाई बर्खास्त गरेको थियो। कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा कर्मचारी कटौती गरिएको हो। कम्पनीका सीईओ मार्क जुकरबर्गले कर्मचारीलाई हटाउने घोषणा गरेका थिए। 

ट्विटर खरिद गरेसँगै एलन मस्कले विश्वभरका कर्मचारीलाई हटाउन थालेका छन्। ट्विटरका कुल ७ हजार ५०० कर्मचारीमध्ये झन्डै आधालाई बर्खास्त गरिएको छ। –एजेन्सी