काठमाण्डौ । भारतको नेसनल कम्पनी ल अपिलेट ट्रिब्युनल (एनसीएलएटी) ले सोमबार अमेरिकी ई–कमर्स कम्पनी अमेजनलाई ठूलो झट्का दिएको छ। 

एनसीएलएटीले अमेजन–फ्युचर सम्झौताका बारेमा आफ्नो आदेश जारी गरेको हो। एनसीएलएटीले यो मामिलामा अमेरिकी ई–कमर्स कम्पनीलाई ४५ दिनभित्र २०० करोड रुपैयाँ जरिवाना बुझाउन भनेको छ। एनसीएलएटीको आदेशमा यसको काउन्टडाउन आज अर्थात जुन १३ बाट सुरु भएको उल्लेख छ।

अमेजनले लुकायो सम्झौता विवरण

यससँगै एनसीएलएटीले भारतको प्रतिस्पर्धा आयोग (सीसीआई) को सन् २०१९ मा अमेजन र फ्युचर ग्रुपबीचको लगानी सम्झौता निलम्बन गरेको आदेशलाई पनि समर्थन गरेको छ। एनसीएलएटीको आदेशमा भनिएको छ, ‘अमेजनले फ्युचर रिटेल लिमिटेडमा आफ्नो रणनीतिक चासोका बारेमा पूर्ण र पारदर्शी जानकारी प्रदान गरेको छैन।’ 

बन्द भएको रिटेल स्टोर चेन बिग बजार फ्युचर ग्रुपको कम्पनी फ्युचर रिटेलले सञ्चालन गरेको थियो।

अमेजनले दिएको थियो सीसीआईको आदेशलाई चुनौती

अमेजनले जानकारी लुकाएको भन्दै सीसीआईले सम्बन्धित लगानी सम्झौतालाई पनि स्थगित गरेको थियो। एनसीएलएटीले सीसीआईको तर्कसँग सहमत भएको र अमेजनले सम्झौतासँग सम्बन्धित सान्दर्भिक जानकारी प्रदान गर्न असफल भएको जनाएको छ।

 सीसीआईले डिसेम्बर २०१९ मा जारी गरेको आदेशमा अमेजन–फ्युचर सम्झौतालाई निलम्बन गरेको थियो। अमेजनले सीसीआईको उक्त आदेशलाई एनसीएलएटीमा चुनौती दिएको थियो। 

के छ अमेजन–फ्युचर सम्झौतामा ? 

यो मामिला अमेजन र फ्युचर कुपन्स प्रालिबीचको १ हजार ४०० करोडको लगानी सम्झौतासँग सम्बन्धित छ। सुरुमा सम्झौताले सबै आवश्यक नियामक स्वीकृति पाएको थियो। पछि फ्युचर ग्रुपको कम्पनीले रिलायन्स इन्डस्ट्रिजसँग फ्युचर रिटेलको सम्झौताको विवादमा सीसीआईसँग स्वीकृति फिर्ता लिन माग गरेको थियो। यस्ता लगानी सम्झौताका लागि सीसीआई स्वीकृति आवश्यक हुन्छ। सीसीआईले फ्युचर ग्रुपले दायर गरेको निवेदनमा विचार गरेपछि अमेजनले केही जानकारी लुकाएको पत्ता लागेको थियो। 

अब अमेजनसँग यो विकल्पमात्रै बाँकी 

सीसीआईले अमेजनले फ्युचर कुपन्समा पैसा कुन उद्देश्यका लागि लगानी गरिएको थियो भन्ने खुलासा नगरेको जनाएको छ। अमेजनले सीसीआईको आदेशसँग असहमति जनाउँदै एनसीएलएटीमा चुनौती दिएको थियो। तर, अहिले अमेजनलाई पनि एनसीएलएटीबाट झट्का लागेको छ। 

अमेजनसँग अब एउटामात्र विकल्प बाँकी छ। उसले एनसीएलएटीको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिन सक्छ। यद्यपि, अमेजनले यसबारे केही खुलासा गरेको छैन। –एजेन्सी