काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनले कर्मचारीहरुका लागि ‘वर्क फ्रम होम’ सुविधा सन् २०२१ को जुन ३० सम्म बढाएको छ।

कम्पनीले ‘वर्क फ्रम होम’ सुविधा त्यस्ता कर्मचारीलाई उपलब्ध गराउनेछ, जो कार्यालयमा नआए पनि काम प्रभावित हुने छैन। यो सुविधा विश्वभरका रहेका कर्मचारीहरुका लागि लागू हुने कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले वर्क फ्रम होम सुविधा सन् २०२१ जनवरीसम्म लागू गर्ने निर्णय गरेको छ। 

विश्वको सबैभन्दा ठूलो अनलाइन रिटेलर अमेजनले अमेरिकामा हालसम्म कम्पनीका १९ हजार फ्रन्टलाइन कामदार कोरोनाको चपेटामा परेको जानकारी गराएको छ। अमेरिकाका थुप्रै कर्मचारी युनियनहरु र नेताहरुले अमेजनले आफ्ना कामदारको स्वास्थ्य सुरक्षाका विषयमा वास्ता नगरेको आरोप लगाएका छन्। 

यस विषयमा अमेजनले हाल कार्यालयमै बसेर गर्नुपर्ने कामका लागिमात्र कार्यालयमा बोलाइएको र अन्यलाई वर्क फ्रम होमकै सुविधा दिइएको जनाएको छ। कम्पनीले कार्यालयभित्र पनि सामाजिक दूरी, सेनिटाइजेसनजस्ता थुप्रै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको दाबी गरेको छ।– एजेन्सी